Wednesday, October 7, 2015

छ सचिव बढुवाका लागि १४ सहसचिवको नाम सिफारिस

काठमाडौं, २० असोज– विभिन्न मन्त्रालय र निकायमा रिक्त ६ सचिवमा बढुवा गर्न १४ जना सहसचिवको नाम सिफारिस गरिएको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा बसेको बढुवा समितिको बैठकले पा“च वर्ष सेवा अवधि पूरा गरेका सहसचिवहरूमध्येबाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा १४ जनाको नाम सचिवमा पदोन्नतिका लागि सिफारिस गरेको हो ।

सामान्य प्रशासन समूहभित्र पर्ने मन्त्रालय र निकायमा रिक्त चार सचिवका लागि ९ जनाको नाम सिफारिस गरिएको छ । उक्त समूहतर्फको चार सिटमध्ये निजामती ऐनअनुसार सबभन्दा वरिष्ठबाट बढुवा हुने २० प्रतिशत अर्थात् एक पदका लागि सहसचिव केदारबहादुर अधिकारीको नाम पदोन्नतिका लागि सिफारिस गरिएको छ । उनी सामान्य प्रशासन समूहका सबभन्दा वरिष्ठ सहसचिव हुन् ।
बढुवा समिति स्रोतका अनुसार निजामती ऐनअनुसार तेब्बर संख्यामा सिफारिस हुने तीन सचिव पदका लागि नौ सहसचिव राजेन्द्र नेपाल, चन्द्र घिमिरे, महेश दाहाल, महेन्द्र गुरुङ, मोहनकृष्ण सोपकोटा, मुकुन्द घिमिरे, लोकप्रसाद आचार्य, शशिशेखर श्रेष्ठ र शंकर कोइरालाको नाम सिफारिस गरिएको छ । मन्त्रिपरिषदले यी नौ जनामध्ये तीन जनालाई सचिवमा बढुवा गर्नेछ ।
बढुवा समितिले परराष्ट्र मन्त्रालयको रिक्त सचिवमा बढुवाका लागि परराष्ट्र सेवाका तीन सहसचिव शंकर बैरागी, खगनाथ अधिकारी र भरत पौडेलको नाम सिफारिस गरेको छ । बैरागी हाल परराष्ट्रमा निमित्त सचिव छन् । सरकारले यी तीन जनामध्येबाट परराष्ट्र सचिव बढुवा गर्नेछ ।
न्याय सेवा आयोगले कानुन समूहका सबभन्दा वरिष्ठ सहसचिव टेकप्रसाद ढुंगानालाई सचिवमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको छ । न्याय सेवाका तीनवटै समूहमा जति पद रिक्त छन्, आयोगले वरिष्ठबाट त्यत्ति नै जना सिफारिस गर्ने र मन्त्रिपरिषदले तिनैलाई बढुवा गर्ने कानुनी व्यवस्था छ । यसपटकदेखि राष्ट्रपति कार्यालयमा कानुन समूहका सचिव राख्ने व्यवस्था गरिएको छ । ढुंगाना सचिवमा बढुवा भएपछि उनलाई राष्ट्रपति कार्यालयमा पदस्थापन गरिनेछ ।

No comments:

Post a Comment