Thursday, April 2, 2015

गुमेको भूमि फर्काउन अविलम्ब पहल गर

काठमाडौं, १९ चैत– सीमा स्तम्भ राख्ने क्रममा भएको त्रुटिका कारण केही नेपाली भूभाग चीनभित्र परेको पत्ता लागेको १० वर्ष भइसक्दा पनि सरकारले त्यसलाई फिर्ता गर्न राजनीतिक तथा कूटनीतिकस्तरमा पहल नगर्नु आफैंमा दुःखद र लज्जास्पद घटना हो । ५२ वषअघि नेपाली प्राविधिक अधिकारीले गल्ती गर्दा दोलखाको उत्तरी भेगको हिमाली चुचुरो ‘पिक’ सहित केही भूभाग चीनभित्र परेको हो । 
लामाबगर गाविसको लेप्चे गाउ“देखि उत्तरतर्फ रहेको कोर्लाङ पारीको टिप्पा भन्ने स्थानमा वास्तविक सीमा विन्दुभन्दा केही तल सीमा स्तम्भ राखिंदा २० बिघाभन्दा बढी नेपाली भूभाग चीनभित्र पर्न गएको हो । सन् २००५ मा दुई देशको प्राविधिक टोलीले सीमा अवलोकन गर्ने क्रममा ५७ नं. को सीमा स्तम्भ (सीमा चिन्ह) वास्तविक सीमाभन्दा नेपालभित्र वरै भएको र त्यही कारण नेपाली भूमि चीनभित्र पर्न गएको खुलासा भएको हो । 

५२ वर्ष अघि को–को नेपाली प्राविधिकले त्यो त्रुटि गरेका हुन् भनेर खोज्न अहिले धेरै ढिलाइ भइसकेको छ । यतिखेर आएर त्रुटि खोज्नेभन्दा पनि त्यो गुमेको भूमिलाई फर्काएर त्रुटि सच्याउने पहल गर्नु नै मुलुकको हितमा हुन्छ । 
केही नेपाली भूभाग चीनभित्र परेकोजस्तो गम्भीर विषय दस वर्षसम्म गोप्य राखिनु र त्यसलाई फर्काउन यति लामो समयसम्म कुनै कदम नचाल्नुले सरकारको चरम कूटनीतिक कमजोरी र गैरजिम्मेवारी उदांग भएको छ । दस वर्षसम्म दर्जनभन्दा बढी सरकार परिवर्तन भइसकेका छन् । गुमेको नेपाली भूभाग फर्काउनेजस्तो महत्वपूर्ण विषय कसैको पनि प्राथमिकतामा नपर्नुले ती सबै सरकार राष्ट्रियताप्रति गम्भीर रहेनछन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ । मुलुकको एक इन्च भूभाग पनि जानाजान अर्को देशलाई छाड्नु राष्ट्रियतामाथि नै सम्झौता गर्नु हो । यसअघिका सरकारले पहल नगरेर जुन गल्ती गरे, त्यो अक्षम्य छ । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको वर्तमान सरकारले त्यस्तो गल्ती दोहो¥याउनु हुन्न । उसले चीनभित्र परेको नेपाली भूमि फर्काउन तत्काल राजनीतिक तथा कूटनीतिक स्तरमा पहल गर्नुपर्छ । उक्त भूभाग फर्काउन सकेमात्र कोइराला सरकार राष्ट्रियताप्रति गम्भीर रहेको सन्देश आमजनतामा जान्छ र मुलुकको राष्ट्रिय स्वाधीनता समेत बलियो हुनेछ ।
नेपाल–चीनबीच सन् १९६१ मा सहमति भई सीमा विवाद समाधान भएको हो । दुई देशका प्राविधिक टोलीले तयार गरेको संयुक्त सीमा प्रोटोकल अनुसार सन् १९६३ मा नै नेपाल र चीनबीच सीमा स्तम्भ राख्ने काम सम्पन्न भइसकेको हो । नेपाली प्राविधिक टोलीले गरेको गल्तीका कारण केही नेपाल भूभाग चीनभित्र परेको बाहेक चिनिया“ सरकारसित कुनै सीमा विवाद छैन । शक्तिशाली मुलुक भए पनि चीनले सधैं नेपाली सीमाको सम्मान गर्दै आएको र कहिल्यै अतिक्रमण नगरेको सुखद इतिहास छ । चीनले नेपालसित सधैं असल छिमेकीको व्यवहार प्रदर्शन गर्दै आएको छ । त्यही कारण चीनले त्यति सानो भूमिका लागि नेपालसित बल मिच्याइ“ गर्छ भनेर कल्पनासम्म पनि गर्न सकिन्न । तसर्थ नेपालले राजनीतिक तथा कूटनीतिक स्तरमा वार्ता गरेर पहल गर्ने हो भने उक्त भूभाग सहजै फर्काउन सकिन्छ । 
उक्त भूभाग कसरी चीनभित्र पर्न गएको हो, त्यसलाई कसरी फर्काउन सकिन्छ भनेर सरकारकै प्राविधिक (सीमा नापी प्रशासनका अधिकारी) हरूले गृहकार्यसमेत गरिसकेका छन् । सन् १९६१ मा दुई देशको प्राविधिक टोलीले तयार गरी हस्ताक्षर गरेको सीमासम्बन्धी संयुक्त प्रोटोकलमा समेत उक्त भूभाग नेपालको भएको प्रस्ट उल्लेख छ । सीमा नापी प्रशासनका अधिकारीहरूले गरेको गृहकार्य र प्रोटोकलका आधारमा नेपालले राजनीतिक तथा कूटनीतिकस्तरबाट पहल गर्ने हो भने उक्त भूभाग चिनिया“ सरकारलाई सहमत गराई सहजै फर्काउन सक्छ । सीमा प्रोटोकलमा प्रष्ट रूपमा उक्त भूमि नेपालको भनी उल्लेख भएकाले सानो छिमेकी मुलुकसितको यो सानो मामिलामा चीन समस्या हुने छैन, बरु उदारता नै देखाउनेछ । तसर्थ सरकारले उक्त भूभाग फर्काउन चीनसित राजनीतिक तथा कूटनीतिकस्तरमा तत्काल पहलकदमी गर्ने हो भने सफलता हात लाग्ने अवश्यंभावी छ ।

No comments:

Post a Comment