Thursday, July 13, 2017

बिदा भए मुख्यसचिव सुवेदी, एडीबीमा जाने

काठमाडौं, २७ असार– मुख्यसचिव सोमलाल सुवेदीले पदबाट राजिनामा नदिईकन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मंगलबारदेखि बिदा भएका छन् । उनी एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक पदको कार्यभार साउन १ देखि सम्हाल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बिदा भएका हुन् । विभिन्न मन्त्रालय र कार्यालयका सचिव र उच्च अधिकारीहरूले सिंहदरबारमा मंगलबार कार्यक्रम नै मुख्यसचिव सुवेदीलाई बिदाइ गरेका थिए । सरकारले सुवेदीले तीन महिनाअघि नै एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । एडीबीको सहमति आएपछि साउन १ देखि हाजिर हुने गरी सुवेदी जान लागेका हुन् । उनले एडीबीको मुख्यालय फिलिपिन्सको मनिलामा रहेर कार्य गर्नेछन् ।

कार्यालयबाट बिदाइ भए पनि उनले मुख्यसचिव पदबाट भने राजिनामा दिएका छैनन् । उनी काज बिदा लिएर एडीबीमा जान लागेका हुन् । उनको मुख्यसचिव पद अतिरिक्त समूहमा राखिने जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ । उनको राजिनामा नआएमा पनि मन्त्रिपरिषदले मुख्यसचिवको अर्को पद सिर्जना गरी वरिष्ठ सचिवहरूमध्येबाट मुख्यसचिवमा बढुवा गर्न सक्छ ।
मुख्यसचिवको दौडमा सचिवहरू शान्तबहादुर श्रेष्ठ, शान्तराज सुवेदी, राजेन्द्रकिशोर क्षेत्री, लोकदर्शन रेग्मीलगायत छन् । सबभन्दा वरिष्ठ सचिव धनबहादुर तामाङसमेत मंगलबारदेखि बिदामा बसेका छन् । उनको सचिवको ५ वर्षे कार्यकाल बुधबारदेखि सकिंदैछ । 

No comments:

Post a Comment