Tuesday, July 4, 2017

मुग्लिन–नारायणगढ सडक खण्डको विकल्प


  • चार विकल्प 
  • १. कान्ति लोकपथ   – फराकिलो बन्दै । कात्तिकदेखि विकल्पका रूपमा प्रयोग गर्न सकिने, अर्को असारमा पूर्ण तयार हुने । 
  • २. त्रिभुवन लोकपथ   – धेरै लामो र फराकिलो बनाउन कठिन । 
  • ३. बीपी लोकमार्ग   – मोडहरू सानो, ठूला गाडीलाई समस्या ।
  • ४. दक्षिणकाली–कुलेखानी–हेटौंडा – सा“घुरो भएकाले ठूला गाडीलाई समस्या । यो सडक चौडा बनाउन सुरुङ नै बनाउनुपर्ने

काठमाडौं, २० असार– राजधानीको ‘लाइफ लाइन’ का रूपमा रहेको नारायणगढ–काठमाडौंं सडकको मुग्लिन–नारायणगढ खण्डमा वर्षायामका बेला छिन–छिनमा पहिरो गएर हरेक दिनजसो हजारौं यात्रुले सास्ती भोग्नुपरिरहेको छ । सातायता मात्रै केहीले ज्यान गुमाएका छन् । सडक चौडा पार्ने क्रममा रहेको उक्त खण्डमा वर्षा नभएका बेला समेत सुक्खा पहिरो जाने गरेकाले यात्रु मात्र हैरान छैनन् कि खाद्यान्नलगायत ओसारपसारमा समेत समस्या भइरहेको छ ।
के मुग्लिन–नारायणगढ सडक खण्डको विकल्प छैन त ? ‘विकल्पमा मुलुकको पूर्वी भागमा जान बीपी लोकमार्ग, त्रिभुवन लोकपथ (बाइरोड) र दक्षिणकाली–कुलेखानी–हेटौंडा गरी तीनवटा सडक छन्,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने, ‘तर, यी तीनवटै सडक सा“घुरा र मोडसमेत नपुग्ने भएकाले ठूला गाडी ओहोरदोहोर गर्न सक्दैनन् ।’ यी सडक मोटरसाइकल, साना यात्रुवाहक गाडी (माइक्रो र जिप) र निजी सवारी साधनका लागि मात्र विकल्प बनिरहेका छन् । ‘ठूला गाडीका लागि तत्काल कुनै विकल्प छैन,’ उनले भने, ‘आपतकालीन अवस्थामा पश्चिमी नेपालका लागि पृथ्वी लोकमार्ग (काठमाडौं–पोखरा) हु“दै सिद्धार्थ लोकमार्ग (पोखरा–बुटवल) उपयुक्त विकल्प हुन सक्छ ।’ तर यो मार्ग मुग्लिन–नारायणगढभन्दा बढी दूरीको छ ।

दक्षिणकाली–कुलेखानी–हेटौंडा सडकलाई ठूला गाडी चलाउने बनाउन कुलेखानीदेखि भैंसेसम्म सुरुङ निर्माण गर्नुबाहेक अर्को विकल्प नभएको उनको भनाइ छ । उक्त सडकलाई बुट प्रणालीमा सुरुङ मार्ग बनाउने नाममा नेपाल पूर्वाधार कम्पनीले तीन वर्षदेखि ओगटिरहेको छ, तर कुनै काम गरिरहेको छैन । त्रिभुवन लोकपथलाई चौडा बनाउन आर्थिक रूपमा सम्भव छैन । त्योभन्दा आर्थिक रूपमा सम्भव हुने सडक कान्ति लोकपथ र फास्ट ट्र्याकमात्र हुन् । सरकारले फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ ।
कार्कीका अनुसार मुग्लिन–नारायणगढ खण्ड अवरुद्ध भएका बेला मुलुकको पूर्वी भागबाट ठूला गाडी राजधानी आउजाउ गर्न तत्काल कुनै विकल्प छैन । आगामी कात्तिकदेखि भने काठमाडौंबाट हेटौंडा पुग्ने सबभन्दा छोटो सडक कान्तिपथ ठूला गाडीका लागि समेत विकल्प हुने उनले बताए ।
कान्ति लोकपथ ललितपुरको टीकाभैरवदेखि हटौंडासम्म ७९ किमि लामो छ, जबकि त्रिभुवन लोकपथबाट १ सय ३३, दक्षिणकाली–कुलेखानीबाट ८६ किमि दूरीमा छ हेटौंडा । काठमाडौंबाट मुग्लिन–नारायणगढ हु“दै हेटौंडाको दूरी २ सय २२ किमि छ । यो लोकपथलाई चौडा बनाई कालोपत्रे गर्न यस वर्ष ५० करोड रुपैया“ बजेट विनियोजन गरिएको छ । आयोजना प्रमुख देवेन्द्र शाहका अनुसार कान्तिपथको ७९ किमिमध्ये ५५ किमि खण्ड दुई लेनको चौडा बनाउने काम भइसकेको छ । यो भागमा ललितपुरतर्फ १ किमि र हेटौंडातर्फ ४ किमि कालोपत्रेसमेत भइसकेको छ । बा“की २४ किमि खण्डसमेत चौडा पार्ने, मोडलाई फराकिलो बनाउने र रिटेनिङ वाल बनाउने काम आगामी दसैंसम्म सकिने छ । ‘चार मिटरको सडकलाई ९ मिटर चौडा बनाउने काम भइरहेको छ, जहा“ ठूला दुई गाडी सहजै ओहोरदोहोर गर्न सक्छन्,’ शाहले भने, ‘हामीले यो सडकबाट दसैंपछिदेखि मुग्लिन–नारायणगढ खण्डको विकल्प दिन सक्छौंं ।’
अर्को असारदेखि भने कान्ति लोकपथको निर्माण सकिएपछि सबै खाले गाडी चल्ने जानकारी उनले दिए । ‘२०७५ असारसम्ममा यो सडकको कालोपत्रे गर्ने कामसमेत पूरा गर्ने लक्ष्य छ,’ उनले भने, ‘आपतकालीन अवस्थामा दसैंपछिदेखि ठूला गाडीका लागि आउजाउ गर्न यो सडक खोल्न सकिनेछ ।’






No comments:

Post a Comment