Tuesday, December 15, 2015

पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन विलाशी सुविधा दिने तयारी

विशिष्ट पदाधिकारीलाई सुविधा दिन वार्षिक ३ अर्ब खर्च हुने
काठमाडौं, २६ मंसिर– सरकारले कानुनविपरीत पूर्वविशिष्ट पदाधिकारीहरू पूर्वराष्ट्रपतिदेखि पूर्व सभामुखसम्मलाई आजीवन गाडी, इन्धन, चालक र स्वकीय सचिवालयको नाममा वर्षेनि अर्बौं रुपैया“को सुविधा दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्याधीश र पूर्वसभामुखलाई आजीवन विलाशी सुविधा दिने व्यवस्थाका लागि प्रस्ताव सिफारिस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले कानुन र स्पष्ट मापदण्ड नबनाईकन पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिने निर्णयका लागि प्रस्ताव गर्न आनाकानी गरिरहेका बेला प्रधानमन्त्री कार्यालयले उसलाई लिखित निर्देशन दिएको जानकारी स्रोतले दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिने व्यवस्था गर्नका लागि प्रस्ताव पेस गर्न गृहलाई बारम्बार ताकेता गरिरहेको जानकारी मन्त्रिपरिषद सचिवालय स्रोतले दिएको छ । 
प्रधानमन्त्री कार्यालयले प्रस्ताव गरेअनुसार पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिंदा वर्षेनि ३ अर्ब रुपैया“भन्दा बढी खर्च हुने अनुमान सरकारी अधिकारीहरूको छ । त्यति रकमले हरेक वर्ष २० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना बन्छ । त्यति विद्युतले हरेक वर्ष २ घन्टाभन्दा बढी लोडसेडिङ घटाउन मद्दत पुग्नेछ ।
गृह मन्त्रालयले कानुनी व्यवस्थाबिना पूर्वविशिष्ट पदाधिकारीहरूलाई सुविधा दिने प्रस्ताव गर्न अस्वीकार गर्दै आएको छ । गृह मन्त्रालयको प्रस्तावबिनै सरकारले कानुनविपरीत पूर्व राष्ट्रपति रामवरण यादव र पूर्व उपराष्ट्रपति परमानन्द झा र पूर्वसभामुख सुवास नेम्वाङलाई सुविधा दिइसकेको छ । स्रोतका अनुसार सरकारले यादवलाई विलाशी गाडीसहित आवाससहितको सुविधा, पूर्वउपराष्ट्रपति झालाई २ करोड रुपैया“भन्दा बढी मूल्यको गाडी र पूर्वसभामुख नेम्वाङलाई ६० लाख रुपैया“को गाडीसहितको सुविधा गैरकानुनी रूपमा दिइरहेको छ ।
यसअघि तत्कालीन गृह मन्त्री वामदेव गौतमको पालामा सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई कानुन बनाएर आजीवन गाडी, इन्धन, मर्मत, चालक र स्वकीय सचिवालयसहितको आकर्षक सुविधा दिने प्रस्ताव गरी विधेयक संसद सचिवालयमा पेस गरेको थियो । विधेयकको चौतर्फी विरोध भएपछि तत्कालीन सभामुख नेम्वाङले तत्कालीन गृहमन्त्री गौतमलाई पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विधेयक फिर्ता लिन दबाब दिएपछि सरकारले फिर्ता लिएको थियो । निवर्तमान सभामुख नेम्वाङले अहिले आएर पूर्व विशिष्ट पदाधिकारीको हैसियतमा ६० लाख रुपैया“को विलाशी गाडी सुविधा लिइसकेका छन्, जबकि सरकारको प्रस्तावमा पूर्व राष्ट्रपतिलाई ६० लाख, पूर्व उपराष्ट्रपतिदेखि पूर्वसभामुखसम्म्लाई ५० लाख रुपैया“बराबरको गाडी सुविधा दिने प्रस्ताव गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकाले उनकै पार्टीका नेता नेम्वाङलाई ६० लाख रुपैया“को गाडी खरिद गरी सुविधामा आजीवन चढ्न दिइएको हो ।
प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पूर्वविशिष्ट पदाधिकारी राष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आजीवन गाडी, चालक, इन्धन, मर्मत, सचिवालयको सुविधाको प्रस्ताव गर्न लिखित निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पूर्वराष्ट्रपतिलाई आजीवन घरघाडा मासिक १ लाख ३० हजार, मासिक वृत्ति ५० हजार, स्टेसनरी खर्च मासिक २४ हजार, मर्मत खर्च २५ हजार रुपैया“ तथा उपसचिव, नासु, चालक, चालक, भान्सेसहित चार जनाको स्वकीय सचिवालयको सुविधा दिइनेछ । निवर्तमान राष्ट्रपति रामवरण यादवलाई १ लाख ३० हजार रुपैया“को आवाससहित सचिवालयको सुविधा दिइसकिएको छ, अरू सुविधा भने दिन बा“की छ । तर, कानुन नबनाइएकाले यादवलाई दिइएको सुविधा कानुनविपरीत छ ।
प्रधानमन्त्री कार्यालयको प्रस्तावमा पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आजीवन घरभाडा ५० हजार, मासिक वृत्ति ४० हजार, स्टेसनरी खर्च १२  हजार, गाडी मर्मत खर्च २५ हजार तथा ५० लाख रुपैया“सम्मको गाडी, इन्धन र मोबिल खर्च दिइने उल्लेख छ । पूर्वउपराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसम्मलाई स्वकीय सचिवालयमा शाखा अधिकृत, चालक÷भान्से र कार्यालय सहयोग गरी तीन जना दिने प्रधानमन्त्री कार्यालयको प्रस्तावमा उल्लेख छ ।
आजीवन विलाशी सुविधा पाउनेमा पूर्व राष्ट्रपति यादव, पूर्व उपराष्ट्रपति झा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, सुशील कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल, कीर्तिनिधि बिष्ट, खिलराज रेग्मी, तुलसी गिरीलगायत छन् । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई क्रमशः ६० लाख र ५० लाख रुपैया“को गाडी सुविधामा दिने प्रधानमन्त्री कार्यालयको प्रस्तावमा उल्लेख भए पनि यादव र झालाई २ करोड रुपैया“भन्दा मूल्य पर्ने ल्यान्डक्रुजर प्राडो गाडी चढ्न दिइएको छ ।
त्यसैगरी आजीवन विलाशी सुविधा पाउनेमा पूर्वप्रधानन्यायाधीशहरूमा अनिरुद्धप्रसाद सिंह, नयनबहादुर खत्री, सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय, केदारनाथ उपाध्याय, गोविन्दबहादुर श्रेष्ठ, हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, मिनबहादुर रायमाझी, अनुपराज शर्मा, रामकुमार श्रेष्ठ, दामोदर शर्मा, केदारप्रसाद गिरी, आजीवन सुविधा पाउने पूर्वसभामुखमा दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, केबी गुरुङ छन् ।





No comments:

Post a Comment