Friday, August 11, 2017

प्रदेश– २ मा स्थानीय तह संख्या थप्ने बाटो खुल्यो

सर्र्वोच्चद्वारा स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णय सदर
काठमाडौं, २७ साउन– सर्वोच्च अदालतले स्थानीय तहको संख्या हेरफेर गर्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको निर्णयलाई सदर गरेको छ । 
स्थानीय तहको संख्या हेरफेरसम्बन्धी सरकारको निर्णयविरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठसमेतले दिएको रिट निवेदन सर्वोच्चले खारेज गरिदिएको हो । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट बिहीबार खारेज गरिदिएको छ । सर्वोच्चले स्थानीय तह हेरफेर गर्ने निर्णय रोक्न यसअघि जारी अन्तरिम आदेशसमेत खारेज गरेको छ ।

सर्वोच्चको निर्णयस“गै प्रदेश नं. २ का ८ जिल्लामा स्थानीय तहको संख्या बढाउन बाटो खुलेको छ । तत्कालीन सरकारले तराई–मधेसका जिल्लामा २३ वटा स्थानीय तह थप्ने र २४ गाउ“पालिकालाई नगरपालिका बनाउने निर्णय गरेपछि त्यसको विरोधमा अदालतमा रिट परेको थियो । उक्त रिटमा गत जेठ १२ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको इजलासले स्थानीय तहको संख्या नथप्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । प्रधानन्यायाधीश पराजुली र न्यायाधीश भण्डारीको इजलासले बिहीबार रिट र अन्तरिम आदेश खारेज गरिदिएको हो । 
सर्वोच्चले रोकेकै अवस्थामा ५ नम्बर प्रदेशको स्थानीय तहमा चुनाव भइसकेको छ । त्यसैले चुनाव हुन बा“की २ नम्बर प्रदेशका ८ जिल्लामा मात्र सरकारले स्थानीय तहको संख्या बढाउन सक्नेछ । अब सरकारले २ नं. प्रदेशका ८ जिल्लामा १२ वटासम्म स्थानीय तहको संख्या बढाउने र त्यत्ति नै संख्यामा गाउ“पालिकालाई नगरपालिका बनाउने स्थानीय विकास मन्त्रालय स्रोतले जनायो । यसअघि सरकारले ती जिल्लामा १२ स्थानीय तह थप्नुका साथै १२ गाउ“पालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो ।
स्वागतयोग्य : राजपा 
तराईका जिल्लामा स्थानीय तहको संख्या थप्न सकिने गरी सर्वोच्च अदालतले बिहीबार गरेको फैसला स्वागतयोग्य भएको राजपाका नेताहरूले बताएका छन् । ‘स्थानीय तहको संख्या थप्न सकिने यो फैसला स्वागतयोग्य छ,’ राजपाका महासचिव मनीषकुमार सुमनले भने, ‘हाम्रो संघर्षको यो एउटा आंशिक सफलता हो ।’ 

No comments:

Post a Comment