Sunday, February 5, 2017

भूकम्पका कारण जोखिमयुक्त बस्ती सार्न समिति गठन

काठमाडौं, २३ माघ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले जोखिम बढाएका विभिन्न जिल्लाका बस्ती स्थानान्तरण गर्न समिति गठन गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा. डा गोविन्दराज पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने सम्बन्धमा प्रतिवेदन तयार पार्न कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरेको हो । 
शर्माको संयोजकत्वमा गठित समितिमा प्राधिकरणका विभागीय प्रमुख, सहरी विकास, भूमिसुधार तथा व्यवस्था र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित ९ सदस्य छन् । समिति गठनपछि भूकम्प गएको २२ महिनापछि जोखिममा परेका बस्ती सार्ने प्रक्रिया सुरु हुने भएको छ । समितिलाई एक साताभित्र बस्ती स्थानान्तरणसम्बन्धी प्रतिवेदन पेस गर्ने समय तोकिएको छ । 

पुरातात्विक सम्पदाको मौलिकता नबिग्रने गरी पुनर्निर्माण अघि बढाउन र परम्परागत निर्माण सामग्रीको व्यवस्थापनका लागि कार्यकारी सदस्य हरिराम पराजुलीको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ । समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र प्राधिकरणका आर्थिक प्रशासन शाखा प्रमुख सदस्य छन् । यो समितिले पनि सात दिनभित्र प्रतिवेदन पेस गर्ने प्राधिकरणले जनाएको छ । 
प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा काठको अभाव भएको गुनासो बढेपछि वन तथा भूसंरक्षण मन्त्रालय, टिम्बर कर्पोरेसन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ र निजी क्षेत्रलाई सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ ।


No comments:

Post a Comment