Sunday, September 16, 2012

विवादित महानिर्देशक झाद्वारा विवादास्पद ढंगले व्यापक सरुवा

काठमाडौं, ३१ भदौ- विवादास्पद व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिएपछि उसले त्यो पदको कतिसम्म दुरुपयोग गर्दो रहेछ भन्ने उदाहरण बनेका छन्- गम्भीर आर्थिक विवादमा परेका नापी विभागका नयाँ महानिर्देशक नागेन्द्र झा ।
हत्याको अभियोगबाट तत्कालीन भूमिसुधारमन्त्री एवं माओवादी नेता प्रभु साहलाई बचाउन पीडितलाई घूस दिएको पुरस्कारस्वरुप माओवादीको दबाबमा महानिर्देशकको जिम्मेवारी पाएका झाले पदस्थापन भएको तीन दिनमै मापदण्ड मिचेर विभागका ६२ जना कर्मचारीको सरुवा गरेर त्यस्तो उदाहरणीय व्यक्ति बनेका हुन् ।
घूस दिएको घटनामा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारबाही गरिनुपर्ने झाले महानिर्देशक भएको तीन दिनमै निजामती ऐन तथा सरुवाको स्थापित मापदण्ड र परम्परालाई मिचेर आफू निकट र माओवादी समर्थकलाई आकर्षक ठाउँमा सरुवा गरेका छन् । उनले दर्जनौं कर्मचारीलाई मापदण्ड मिचेर दुःख दिने नियतले दुर्गमबाट दुर्गम र अनाकर्षक ठाउँबाट अर्को त्यस्तै कार्यालयमा पठाएका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईको दबाब र निर्णयमा झा महानिर्देशक भएका हुन् । प्रधानमन्त्रीको त्यही गुन तिर्न झाले निजामती ऐनविपरीत मापदण्ड मिचेर माओवादी निकट कर्मचारीहरुलाई छानीछानी कमाउ अड्डा मानिने आकर्षक ठाउँमा सरुवा गरेको जानकारी स्रोतले दिएका छन् । विभागमा भदौ २७ को अपराह्न ४ः३० बजे पदस्थापन भएका झाले आइतबार मनोमानी ढंगले दुई नापी अधिकृतसहित ६२ कर्मचारीको सरुवा गरेका हुन् ।
सरकारले सबै विभागलाई आन्तरिक मापदण्ड बनाएरमात्र कर्मचारी सरुवा गर्न लिखित निर्देशन दिएको छ । झाले निर्देशनको अवज्ञा गरी आन्तरिक मापदण्ड नै नबनाई आफ्नो र माओवादीको स्वार्थअनुरुप सरुवा गरेका हुन् । झाले दुर्गममा बसेकालाई सुगम र सुगममा बसेकालाई दुर्गममा सार्ने निजामती ऐनको व्यवस्थाको उल्लंघन गर्दै दुई दर्जनभन्दा बढी कर्मचारीलाई सुगमको कमाउ अड्डाबाट त्यस्तै अर्को आकर्षक कार्यालयमा सारेको जानकारी स्रोतले दिए ।
काठमाडौंबाट सुनसरी सरुवा भएका सर्वेक्षक रामदेव मेहतालाई पुन काठमाडौंमा र काठमाडौंबाट नुवाकोट सरुवा भएका सर्वेक्षक सूर्यबहादुर कार्कीलाई पुनः दिल्लीबजार नापी कार्यालयमा सरुवा गरिएको छ जबकि सुगम र आकर्षक कार्यालयमा बसेकालाई त्यस्तै कार्यालयमा सरुवा गर्न नपाइने व्यवस्था छ । उदाहरणका रुपमा प्रस्तुत यी दुई सरुवा मापदण्डविपरीत सुगमको एउटा आकर्षक कार्यालयबाट अर्को त्यस्तै ठाउँमा सारिएको विकृत नमुना हुन् । सरुवाको अर्को विकृत नमुना विभागका भारत र चीनसँगको सीमा नापीको दक्षता भएका शाखा अधिकृत कुमार कार्कीलाई चावहिल नापी कार्यालयमा सरुवा गरिएको छ । सीमा नापी शाखामा दक्षता भएका व्यक्तिको अभाव हुने गरी अन्यत्र सरुवा गरिनु अर्को विवादास्पद सरुवाको नमुना भएको जानकारी विभागका एक अधिकारीले जानकारी दिए ।
भूमिसुधार मन्त्रालयमा सहसचिव हुँदा झाले आफ्ना तत्कालीन तालुकवाला मन्त्री साहलाई हिन्दू युवा संघ पसा्रका अध्यक्ष काशी तिवारीको हत्याको अभियोगबाट बचाउन असोज अन्तिम साता पीडित बबितादेवी तिवारीलाई ८ लाख रुपैयाँ घूस दिएका थिए । तिवारीकी पत्नी बबितादेवीले साहलाई नपोल्न झाले आफूलाई घूस दिएको कुरा नोटको बिटासहित सार्वजनिक गरेकी थिइन् । तिवारीको २७ महिनाअघि हत्या भएको हो । हत्याको अभियोगमा पक्राउ परेका अभियुक्तहरुले आफूहरु साहको निर्देशन र योजनाअनुसार तिवारीको हत्या गरेको साविती बयान प्रहरीलाई दिएका छन् ।
प्रधानमन्त्री भट्टराईले भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई पार्टीमा आफू निकट नेता साहलाई बचाउन घूस दिने सहसचिव झालाई महानिर्देशक बनाउन दबाब दिई निर्णय गर्न लगाएका हुन् । भट्टराईले सामान्य प्रशासन मन्त्रीको हैसियतमा झालाई महानिर्देशकमा सरुवा गर्न सहमति दिएका थिए । सहसचिवको सरुवा गर्न सामान्य प्रशासनमन्त्रीको सहमति अनिवार्य हुन्छ ।
भूमिसुधारमन्त्री जोशीले सरकार प्रमुखको दबाबमा झालाई मन्त्रालयबाट महानिर्देशकमा सार्ने निर्णय गरी भदौ ९ मा सामान्य प्रशासनको सहमति मागेको निर्णय सार्वजनिक हुनासाथ प्रधानमन्त्रीका स्वकीयसचिव विश्वदीप पाण्डेले त्यसको भोलिपल्टै वक्तव्य जारी गरी झालाई सरुवा गर्न प्रधानमन्त्री भट्टराईको कुनै संलग्नता र दबाब नरहेको दाबी गरेका थिए । झालाई सरुवा गर्ने निर्णयमा प्रधानमन्त्रीले नै भदौ २६ मा सामान्य प्रशासनमन्त्रीको हैसियतमा सहमति दिएपछि उनको संलग्नता र दबाब रहेको स्वतः प्रमाणित भएको सरकारी अधिकारीले बताएका छन् ।

No comments:

Post a Comment