Friday, September 28, 2012

प्राधिकरणद्वारा पहिलोपटक सौर्य ऊर्जा खरिद सम्झौता

काठमाडौं, १२ असोज- विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबीच शुक्रबार ललितपुरको सुन्दरीघाटमा सूर्य ऊर्जा आयोजनाबाट उत्पादित बिजुली खरिद सम्झौता भएको छ । बोर्डले जापानी सहयोग निकाय जाइकाको करिब १ अर्ब अनुदान सहयोगमा निर्मित सौर्य ऊर्जाबाट उत्पादित बिजुली प्रतियुनिट ५ रुपैयाँ १० पैसामा प्राधिकरणलाई बेच्ने सम्झौता गरेको हो ।
प्राधिकरणमा शुक्रबार एक कार्यक्रमबीच भएको विद्युत् खरिद सम्झौतामा बोर्डका तर्फबाट सदस्य गौतमप्रसाद श्रेष्ठ र प्राधिकरणका व्यापार महाशाखा प्रमुख शेरिसंह भाटले हस्ताक्षर गरेका छन् ।
सुन्दरीघाटको १२ रोपनी क्षेत्रफलमा जडान गरिएका ३२ सय ५० वटा प्यानलबाट वर्षको ६ लाख १८ हजार ८ सय ६९ युनिट बिजुली उत्पादन हुने अनुमान बोर्डको छ । प्राधिकरणले पहिलोपटक सौर्य ऊर्जाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागेको हो । उक्त सौर्य ऊर्जा आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने अन्तिम तयारी भइसकेको जानकारीसमेत प्राधिकरणका अधिकारीले दिए । ती अधिकारीका अनुसार १५/२० दिनमै सौर्य ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिनेछ ।
जाइकाको सहयोगमा बोर्डको स्वामित्वमा रहेको 'प्रोजेक्ट इन्टरडक्सन अफ क्लिन इनर्जी' ले काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल का लागि सुन्दरीघाटमा जमिनमुनिको पानी सौर्य ऊर्जाबाट तान्न सौर्य ऊर्जा उत्पादन गरेको गरेको हो । दुई महिनादेखि नै त्यहाँबाट सौर्य ऊर्जा उत्पादन गर्न थालिएको छ ।
सुन्दरीघाटमा पानी तान्न केयूकेएललाई बढीमा २ सय किलोवाटमात्र बिजुली चाहिने भएकाले बढी विद्युत् प्राधिकरणलाई बेच्ने सम्झौता गरिएको जानकारी काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष शिवराज पाठकले जानकारी दिए ।

No comments:

Post a Comment