Sunday, September 9, 2012

लोडसेडिङ घटाउन साताको दुई दिन बिदा दिने तयारी

लोडसेडिङ र डिजेलको खपत घटाउन ऊर्जा मन्त्रालयद्वारा नयाँ कार्ययोजना प्रस्ताव
काठमाडौं, २४ भदौ- सरकारले ऊर्जा बचत गरी लोडसेडिङको समय घटाउन तथा डिजेलको खपतलाई कम गर्न सम्पूर्ण सरकारी कार्यालय संस्थान र शिक्षण संस्थामा साताको दुई दिन बिदा दिने गृहकार्य सुरु गरेको छ । सरकारले लोडसेडिङ घटाउन उद्योगधन्दा वित्तीय क्षेत्र र कर्पोरेटसहित सम्पूर्ण निजी क्षेत्रका प्रतिष्ठान र कार्यालयलाई समेत साताको दुई दिन बिदा गर्न आग्रह गर्ने भएको छ ।
ऊर्जा मन्त्रालयले लोडसेडिङ घटाउन साताको दुई दिन बिदा गर्नेसहित विद्युत् चोरी हुने ठाउँमा लोडसेडिङ बढाई अन्यत्र घटाउने, दुहवी-कटैया र ढल्केबर-मुजफ्फपुरमा नेपाल-भारतबीचको अन्तरदेशीय प्रसारण लाइन द्रुत गतिमा निर्माण गरी भारतबाट बढी बिजुली आयात गर्ने र भएका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्नेलगायतका कार्ययोजना बनाएको छ ।
ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणका अधिकारीहरुले प्रधानमन्त्री बाबुराम भट्टराईलाई सम्पूर्ण सरकारी कार्यालय र निजी क्षेत्रका उद्योगधन्दा तथा व्यापारिक प्रतिष्ठानमा साताको दुई दिन बिदा गर्नेसहितको लोडसेडिङ घटाउने तथा डिजेलको खपत कम गर्ने आफ्नो कार्ययोजनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको आग्रहमा ऊर्जाका अधिकारी र प्राधिकरणका अधिकारीले छलफल गरी लोडसेडिङ घटाउन यो कार्ययोजना प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्री भट्टराई यो कार्ययोजनामा सहमत भएपछि ऊर्जा मन्त्रालयले सम्पूर्ण सरकारी कार्यालयमा साताको दुई दिन शनिबार र आइतबार बिदा दिन तथा निजी क्षेत्रलाई समेत दुई दिन बिदा गर्न आग्रह गर्नेसहितको कार्ययोजनासम्बन्धी प्रस्ताव निर्णयका लागि मन्त्रिपरिषदमा लाने तयारी गरेको छ । प्रधानमन्त्री भट्टराईले नै ऊजा मन्त्रालय सम्हालेका छन् ।
मन्त्रिपरिषदले ऊर्जाको प्रस्तावलाई अनुमोदन गरेपछि पहिलो चरणमा बढी लोडसेडिङ हुने हिउँदयाममा साताको दुई दिन बिदा दिन थालिनेछ । यसको सफलताका आधारमा वर्षायाममा समेत दुई दिन बिदा दिने तयारी सरकारको छ । आगामी वर्षायाममा साताको नौ घन्टाभन्दा बढी लोडसेडिङ हुने प्राधिकरणको प्रक्षेपण छ ।
दुई दिन बिदा गर्दा साताको पाँच दिन कार्यालय समय बढाएर बिहान ९ देखि ५ बजेसम्म गरिनेछ । दुई दिन बिदा गरे पनि साताको कुल कार्यालय समय भने नघट्ने जानकारी सरकारी अधिकारीले दिए । हाल आइतबारदेखि बिहीबारसम्म १० देखि ५ र शुक्रबार १० देखि ३ बजेसम्म गर्दा साताको कुल कार्यालय समय ४० घन्टा हुन्छ । साताको दुई दिन बिदा गर्दा पनि सोमबारदेखि शुक्रबारसम्म ८ घन्टाका दरले कार्यालय समय ४० घन्टा नै हुने भएकाले सरकारी कार्यालयले आमजनतालाई गर्ने सेवा प्रवाहमा नकारात्मक असर नपर्ने दाबी ती अधिकारीको छ ।
साताको थप एक दिन बिदा गर्दा ४ लाख युनिट बिजुली बचत हुने र त्यसले आगामी हिउँदयाममा लोडसेडिङ दैनिक १७ घन्टा कायम सकिने जानकारी प्राधिकरणका एक अधिकारीले दिए । आगामी हिउँदमा दैनिक १९ घन्टासम्म लोडसेडिङ हुने प्राधिकरणको प्रक्षेपण छ ।
साताको थप एक दिन बिदा गर्दा ९२ मेगावाटका कुलेखानीका दुई जलाशययुक्त आयोजना र पिकिङ रन अफ रिभर आयोजनाहरु मध्यमस्र्याङ्दी मस्र्याङ्दी त्रिशुली देवीघाटमा दिनभरको पानी जम्मा गरेर सबभन्दा बढी विद्युत् खपत हुने साँझको समयमा बढी बिजुली उत्पादन गरिने र त्यसले लोडसेडिङ केही समयका लागि घटाउन मद्दत पुग्ने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए । साताको थप एक दिन बिदा गर्दा सरकारको केन्द्रीय सचिवालयमा मात्र १० मेगावाटसम्म बिजुलीको खपत घट्छ ।
लोडसेडिङको समयमा जेनेरेटर चलाउने औद्योगिक प्रतिष्ठान वित्तीय क्षेत्र र कर्पोरेटहरुहरुले साताको दुई दिन बिदा गर्दा सातामा ८ लाख लिटर डिजेलको खपत घट्ने र जसले चरम घाटामा रहेको आयल निगमलाई समेत ठूलो राहत पुग्नेछ । औद्योगिक प्रतिष्ठान वित्तीय क्षेत्र र कर्पोरेटहरुमा जडित डिजेल प्लान्टको क्षमता ५ सय मेगावाट छ ।
ती औद्योगिक प्रतिष्ठान वित्तीय क्षेत्र र कर्पोरेटहरुले आफ्नो कार्यालय साचालन र उत्पादनलगायतका कामका लागि लोडसेडिङको समयमा डिजेल प्लान्टबाट दैनिक ३ सय मेगावाट बिजुली निकाल्छन् । साताको थप एक दिन बिदा गरी डिजेल प्लान्ट नचलाउँदा ३ सय मेगावाट बिजुली उत्पादन गर्न आवश्यक ८ लाख लिटर डिजेल बचत हुन्छ । साताको दुई दिन कार्यालय बन्द गर्दा सरकारी र निजी क्षेत्रका कार्यालयका सवारी साधन र एक दिन लाखौं संख्यामा कर्मचारी तथा मजदुर आउजाउ नहुँदा सरकारी र सार्वजनिक यातायातका साधनको साचालन घट्ने र त्यसबाट समेत लाखौं लिटर डिजेल तथा पेट्रोलको बचत हुने दाबीसमेत ऊर्जाका अधिकारीको छ ।
यसैबीच वाणिज्य बैंकसहितका वित्तीय क्षेत्रले समेत साताको दुई दिन बिदा गर्ने गृहकार्य सुरु गरेका छन् । राष्ट्रबैंकले समेत वित्तीय क्षेत्रलाई साताको दुई दिन बिदा गर्न सैद्धान्तिक सहमति दिइसकेको जानकारी अर्थमन्त्रालयका अधिकारीले दिए । लोडसेडिङका कारण ुकु वर्गका वाणिज्य बैंक र तिनका शाखा कार्यालयमा जेनेरेटर चलाउँदा दैनिक ६० लाख रुपैयाँ खर्च भइरहेको छ । थप एक दिन बिदा गर्दा बैंक तथा वित्तीय क्षेत्रले जेनेरेटर चलाउँदा लाग्ने एक दिनको खर्च बचत हुने र त्यसबाट डिजेल र बिजुलीको खपतसमेत घट्ने जानकारी ती अधिकारीले दिए ।
ऊर्जा मन्त्रालयले आफ्नो कार्ययोजनामा नेपाल र भारतबीचको दुहवी-कटैया प्रसारण लाइन जतिसक्दो चाँडो बनाउने र भारतबाट उक्त प्रसारण लाइनबाट थप एक सय मेगावाट विद्युत् आयात गरी हिउँदयाममा लोडसेडिङ घटाउने प्रस्ताव गरेको छ । विद्युत् चोरी बढी हुने क्षेत्रमा लोडसेडिङको समय बढाउने र अन्यत्र लोडसेडिङको घटाउने कार्ययोजनासमेत ऊर्जा मन्त्रालयको छ । नेपाल-भारतबीच ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्यलाई तीव्रता दिनेसमेत कार्ययोजनामा छ । प्रसारण लाइन पुराना र कम क्षमताका भएकाले हाल भारतबाट आयात गर्दा १० प्रतिशत बिजुली चुहवाट हुने गरेको छ । ठूलो क्षमताको नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माण भएपछि भारतबाट बिजुली आयात गर्दा चुहावट नहुने र आयातसमेत बढाई लोडसेडिङ घटाउन सकिने कार्ययोजना ऊर्जा मन्त्रालयको छ ।




No comments:

Post a Comment