Monday, November 18, 2013

अध्यक्ष रेग्मीद्वारा चुनावमा पूर्ण क्षमताका साथ काम गर्न सुरक्षा निकायलाई निर्देशन

काठमाडौं, ३ मंसिर– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभा चुनावको मंगलबार हुने मतदान कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पूर्ण क्षमता र आत्मबलका साथ काम गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
मन्त्रिपरिषद अध्यक्षको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको सुरक्षा स्थितिको समीक्षा बैठकमा उनले देशभरिका मतदान केन्द्रहरूमा मतदाताहरूलाई निश्चिन्त र ढुक्क भई निर्भिकतापूर्वक मतदान गर्ने वातावरणको प्रत्याभूति गर्न निर्वाचनको अन्तिम घडीमा रातदिन नभनी काम गर्न पनि सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए ।
बैठकमा नेकपा–माओवादी नेतृत्वको बहिष्कारवादी समूहले गर्न सक्ने अवरोधलाई सामना गरी त्यस्ता गतिविधिलाई पूर्ण रूपमा निस्तेज पार्ने र निर्वाचनविरोधी गतिविधि हुन नदिन अवलम्बन गरिंदै आएको कानुनबमोजिमको कारबाहीलाई निरन्तरता दिने विषयमा गम्भीर छलफल भएको मन्त्रिपरिषद अध्यक्षको सचिवालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
रेग्मीले संविधानसभा निर्वाचनको मतदान कार्यक्रम सम्पन्न गरी मतपरिणाम सार्वजनिक नभएसम्म देश र जनताको सुरक्षाका लागि अहोरात्र खटिनुपर्ने अवस्था रहेकाले यस अवधिमा आवश्यक पर्ने सुरक्षा प्रबन्धको व्यवस्थापनका लागि हरक्षण तयारी अवस्थामा रहन मातहतका अधिकारीलाई निर्देश गर्न पनि सम्बद्ध सुरक्षा निकायका प्रमुखहरूको ध्यानाकर्षण गराए ।
रेग्मीले सुरक्षा प्रमुखहरूसितको बैठकपछि सम्पूर्ण नागरिकहरूको मताधिकार सुनिश्चित गरी स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान कार्यक्रम सम्पन्न गर्न देशभरिका सम्पूर्ण मतदान केन्द्रहरूको सुरक्षा स्थिति मजबुत रहेको उल्लेख गर्दै निर्धक्क भई मतदानमा सहभागी हुन सम्पूर्ण मतदाताहरूलाई पुनः आग्रहसमेत गरेका छन् ।
बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरे, प्रधानसेनापति गौरवसमसेर राणा, गृहसचिव जनार्दन नेपाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, मुख्य अनुसन्धान निर्देशक मोतीबहादुर गुरुङलगायत सुरक्षास“ग सम्बद्ध अधिकारीहरू उपस्थित थिए ।


नेपाल सरकार
मन्त्रिपरिषद्का अध्यक्षको निजी सचिवालय



प्रेस विज्ञप्ति

मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष खिलराज रेग्मीज्यूले भोलि २०७० मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको मतदान कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन पूर्ण क्षमता र आत्मबलकासाथ काम गर्न चारवटै सुरक्षा निकायलाई आज निर्देशन दिनुभएको छ ।
मन्त्रिपरिषद् अध्यक्षको सरकारी निवास बालुवाटारमा आज बिहान भएको सुरक्षा स्थितिको समीक्षा बैठकमा उहाँले देशभरिका मतदान केन्द्रहरुमा मतदाताहरुलाई निश्चिन्त र ढुक्क भई निर्भिकतापूर्वक मतदान गर्ने वातावरणको प्रत्याभूति गर्न निर्वाचनको यो अन्तिम घडीमा रातदिन नभनी काम गर्न पनि सुरक्षा प्रमुखहरुलाई निर्देश गर्नुभयो ।  
बहिष्कारवादी समूहले गर्नसक्ने अवरोधको स्थितिलाई सामना गरी त्यस्ता गतिविधिलाई पूर्ण रुपमा निस्तेज पार्ने र निर्वाचनविरोधी गतिविधि हुन नदिन अवलम्बन गरिँदै आएको कानूनबमोजिमको कारबाहीलाई निरन्तरता दिने विषयमा बैठकमा गम्भीर छलफल भएको छ । 
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचनको मतदान कार्यक्रम सम्पन्न गरी मतपरिणाम सार्वजनिक नभएसम्म देश र जनताको सुरक्षाका लागि अहोरात्र खटिनुपर्ने अवस्था रहेकाले यस अवधिमा आवश्यक पर्ने सुरक्षा प्रबन्धको व्यवस्थापनका लागि हरक्षण तयारी अवस्थामा रहन मातहतका अधिकारीलाई निर्देश गर्न पनि सम्बद्ध सुरक्षा निकायका प्रमुखहरुको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकपश्चात् सम्पूर्ण नागरिकहरुको मताधिकार सुनिश्चित गरी स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान कार्यक्रम सम्पन्न गर्न देशभरिका सम्पूर्ण मतदान केन्द्रहरुको सुरक्षा स्थिति मजबुत रहेको विश्वास दिलाउँदै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले निर्धक्क भई मतदानमा सहभागी हुन सम्पूर्ण मतदाताहरुलाई पुनः आग्रह गर्नुभएको छ ।
बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरे, प्रधानसेनापति गौरब शम्शेर जबरा, गृहसचिव जनार्दन नेपाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, मुख्य अनुसन्धान निर्देशक मोतीबहादुर गुरुङ्ग लगायत सुरक्षासँग सम्बद्ध अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।

२०७० मंसिर ३ गते, सोमबार ।
विमल गौतम
मन्त्रिपरिषद् अध्यक्षका प्रेस सल्लाहकार

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete