Saturday, March 18, 2017

कांग्रेसका पूर्व सांसद ढुंगेलको निधन

काठमाडौं, ५ चैत– पूर्वसांसद रामहरि ढुंगेलको बिहीबार निधन भएको छ । कांग्रेस महासमिति सदस्य रामेछापका ६० वर्षीया ढुंगेलको डिल्लीबजारस्थित डेरामा सुतिरहेका बेला निधन भएको हो । २०१३ सालमा रामेछापको पकरवासमा जन्मेका ढुंगेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

लोकतन्त्रको पक्षमा क्रियाशील रह“दा दर्जनौंपटक जेल परेका ढुंगेल ०५६ सालको निर्वाचनमा कांग्रेसका तर्फबाट रामेछाप २ बाट सांसद निर्वाचित भएका थिए । उनी कृषि सहायकमन्त्रीसमेत भएका थिए । कांग्रेसले ढुंगेलको निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै मुलुकमा लोकतन्त्र स्थापनामा सक्रिय भूमिका निर्वाह गरेका ढुंगेलको निधनको खबरले आफू अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् । 

अविवाहित ढुंगेल एक्लै बस्दै आएका थिए । बुधबार राति केही असजिलो भएपछि हिमाल अस्पताल पुगेका थिए । अस्पतालले ग्यास्ट्रिक समस्या भन्दै सामान्य औषधि दिएर फर्काएपछि कोठामा पुगेर सुतेका थिए । उनको बिहीबार सा“झ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । 

No comments:

Post a Comment