Wednesday, April 12, 2017

आईजीपी अर्यालले बोलाएको बैठकमा सिलवाल अनुपस्थित

काठमाडौं, ३१ चैत– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक प्रकाश अर्यालले मंगलबार बोलाएको प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा डीआईजी नवराज सिलवाल अनुपस्थित भएका छन् । उनी पीसीसी मिटिङ छाडेर मन्त्रिपरिषदको अर्याललाई महानिरीक्षकमा बढुवा गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत गुहार्न पुगेका थिए ।
अर्यालले महानिरीक्षकका रूपमा पीसीसीको पहिलो बैठक बोलाएका हुन्, जसमा मन्त्रिपरिषदले आईजीपीमा बढुवा गरे पनि सर्वोच्च अदालतले निर्णय उल्ट्याइदिएका कारण फुली लगाउन नपाएका डीआईजी जयबहादुर चन्द भने बैठकमा सहभागी भए । महानिरीक्षकको प्रतिस्पर्धामा रहेका अर्का डीआईजी बमबहादुर भण्डारी समेत बैठकमा उपस्थित थिए ।

बैठकमा बोल्दै महानिरीक्षक अर्यालले सरकारले आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाए । उनले इमानदारीपूर्वक काम गर्न मातहतका सबै अधिकृतहरूलाई निर्देशन दिए । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अर्याललाई आईजीपीमा बढुवा गरेको हो । उनले सोमबार राति नै फुली लगाउनुका साथै प्रधान कार्यालय पुगेर पदबहाली गरेका थिए ।

No comments:

Post a Comment