Wednesday, April 5, 2017

मेलम्ची दसैंअघि सक्न लेखा समितिको निर्देशन

काठमाडौं, २३ चैत– संसदको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य दशैंअगाडि नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले खानेपानी तथा सरसफाइ मन्त्रालय र मेलम्ची खानेपानी आयोजना विकास समितिका पदाधिकारीस“ग मंगलबार छलफल गरेपछि आयोजना निर्धारित समयमै सम्पन्न गरी दसैंसम्ममा मेलम्चीको पानी राजधानीमा वितरण गरिसक्न निर्देशन दिएको हो ।
समितिको बैठकले आयोजनाको प्रत्येक महिनाको प्रगति विवरण पेस गर्नसमेत खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई निर्देश गरेको छ । बैठकले आयोजना निर्माणका लागि हालसम्म भएका वित्तीय व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण एक साताभित्र समितिमा पेस गर्नसमेत निर्देशन दिएको छ ।

समितिले खानेपानीको पाइप विस्तारका क्रममा काठमाडौं उपत्यकामा उत्पन्न भएको धुलो र ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्नसमेत आयोजनालाई आग्रह गरेको छ । धुलो र वायु प्रदूषण न्यूनीकरण गर्नका लागि तत्काल उचित उपाय अवलम्बन गर्नसमेत आयोजनालाई समितिले निर्देश गरेको छ ।
बैठकमा खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मेलम्ची आयोजनाको अपेक्षित गतिमा अघि बढेको उल्लेख गर्दै दशैंभित्र सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्टराईले सुरुङ निर्माणको काम अब ४ किलोमिटरमात्रै बा“की रहेको समितिलाई जानकारी गराएका थिए ।

No comments:

Post a Comment