Monday, January 2, 2012

राजा त्रिभुवनको सालिक अब नारायणहिटीमा बस्ने

काठमाडौं, १८ पुसं- सरकारले राजधानीको सहिदगेटमा रहेको स्वर्गीय राजा त्रिभुवनको शालिकलाई त्यहाँबाट हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चारसहिदको शालिकका बीचमा राखिएको त्रिभुवनको शालिक त्यहाँबाट हटाएर नारायणहिटी दरबारस्थित संग्रहालयमा राख्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिए ।
'त्रिभुवनको शालिकलाई हटाउन होइन सहिदगेटबाट सारेर नारायणहिटी संग्रहालयमा सुरक्षित राख्ने निर्णय गरिएको हो' श्रेष्ठले संवाददाताहरुको थप जिज्ञासामा भने । निरंकुश राणा शासकले आफ्नाविरुद्ध विद्रोहको सुरुआत गरेको अभियोगमा चार विद्रोही युवा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई १९९७ मा मृत्युदण्ड दिएको थियो ।
२००७ सालको क्रान्तिको सफल भएपछि ती चार सहिदको शालिक र बीचमा तत्कालीन राजा त्रिभुवनको प्रतिमा राखी सहिदगेट बनाइएको थियो । ०७ सालको क्रान्तिलाई साथ दिएको भन्दै तत्कालीन सरकारले त्रिभुवनलाई राष्ट्रपिताको संज्ञासमेत दिएको थियो ।
संस्कृति मन्त्री गोपाल किराँतीको प्रस्तावमा मन्त्रिपरिषदले त्रिभुवनको शालिक सहिद गेटबाट हटाउने निर्णय गरेको जानकारी स्रोतले दिए । स्रोतका अनुसार संस्कृति मन्त्रालयले लोकतान्त्रिक आन्दोलनका अगुवा चार सहिदको बीचमा त्रिभुवनको शालिक राख्नु सहिदमाथिकै अपमान हुने भन्दै हटाउने प्रस्ताव गरेको र मन्त्रिपरिषदले त्यसैलाई सदर गरेको हो ।
शान्तिपूर्ण आन्दोलनको बलमा संविधानसभाले राजतन्त्र हटाई मुलुकमा गणतन्त्र बहाल गरेपछि सरकारले नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको सम्मानमा हरेक वर्षको पुस २७ मा मनाइँदै आएको राष्ट्रिय एकता दिवससमेत मनाउन बन्द गरेको छ ।
खानेपानीको महाप्रबन्धकमा यादव
सरकारले खानेपानी संस्थानका महाप्रबन्धक धर्मकुमार बजिमयलाई अवकास दिएको छ । मन्त्रिपरिषदले संस्थानकै नायव महाप्रबन्धक रामकुमार यादवलाई कायममुकायम महाप्रबन्धक नियुक्त गरेको छ ।

No comments:

Post a Comment