Thursday, January 26, 2012

राज्य पुनस्रंरचना आयोगको एक साता म्याद थप

काठमाडौं, १२ माघ- सरकारले राज्य पुनस्रंरचना आयोगको म्याद एक साता थप गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुई महिनाका लागि गठित आयोगले तोकिएको दायित्व नभ्याइसकेकाले एक साताको म्याद थप गरेको जानकारी भौतिक योजना मन्त्री हृदयेश त्रिपाठीले दिए । समितिले समेत एक साताकै म्याद थप गर्न माग गरेको थियो ।
राहदानी विभाग गठन
सरकारले परराष्ट्र मन्त्रालय मातहतमा राहदानी विभाग गठन गरेको छ । मन्त्रिपरिषद बैठकले नारायणहिटी दरबार परिसरमा रहेको केन्द्रीय राहदानी कार्यालयलाई राहदानी विभाग बनाएको हो ।
एडीबीले चार अर्ब सहयोग गर्ने
एसियाली विकास बैंकले विद्यालय सुधार आयोजना कार्यान्वयनका लागि ४ अर्ब रुपैयाँ ऋण सहयोग दिने भएको छ । मन्त्रिपरिषदको बैठकले एडीबीको उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
सार्वजनिक संस्थान बोर्ड गठन
सरकारले सार्वजनिक संस्थानहरुमा खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति गर्न पूर्वसचिव बिमल वाग्लेको अध्यक्षतामा समिति गठन गरेको छ । सार्वजनिक संस्थानहरुमा हुने राजनीतिक नियुक्तिलाई पारदर्शी र व्यवस्थित गरी सक्षम व्यक्ति चयन गर्न मन्त्रिपरिषदले केही समयअघि पारित गरेको गठन आदेशबमोजिम समिति बनाइएको हो ।

No comments:

Post a Comment