Thursday, January 19, 2012

मन्त्रीले नचिनेपछि प्रधानमन्त्रीसित बाझाबाझ

काठमाडौं, ५ माघ- आफूले कोसित फोन वार्ता गरिरहेको छु भन्ने थाहा नपाउँदा कति अप्ठ्यारो र पछुतो हुँदोरहेछ भन्ने पछिल्लो उदाहरण बनेका छन्- सामान्य प्रशासन मन्त्री रामकुमार यादव । बिहीबार कार्यालयमा आएदेखि अपराह्नसम्म मन्त्री यादव सरुवा हुन खोज्ने कर्मचारी र सोस्रफोस्रका लागि आएका सभासददेखि विभिन्न दलका नेता-कार्यकर्ता र कर्मचारी संगठनका प्रतिनिधिसितको भेटघाटमा थिए । त्यहीबीचमा भेटघाटलाई थाँती राखेर केही पत्रकारसित माघमा सामान्य प्रशासन मन्त्रालयले निजामती ऐनबमोजिम गर्न लागेको कर्मचारीको सरुवाबारेमा कुरा गर्नमात्रै लागेका थिए प्रधानमन्त्री भट्टराईको फोन आइहाल्यो । तर उनले आफूलाई फोन गर्ने व्यक्ति को हो चिनेनन् र आफ्नै पाराले दलील गरिरहे । उनको मोबाइल फोनबाट बाहिरै सुनिरहेको थियो- 'तपाईंले विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका सहसचिव केदार न्यौपानेलाई बीचमै किन काजमा भनेर सामान्य प्रशासनमा लगेको ?' प्रधानमन्त्रीका सहयोगीले आफूलाई सोधेको जस्तो ठानेर सोझा र सरल यादवले भने- 'हाम्रो कर्मचारी प्रशासन महाशाखा हेर्ने सहसचिव दुर्गानिधि शर्मा कामु सचिव भएपछि यहाँ एउटा सहसचिव पद रिक्त छ, माघ महिना कर्मचारीको सरुवा गर्ने महिना हो मैले यसपटक लामो समयदेखि दुर्गममा बसेका अन्यायमा परेका कर्मचारीलाई न्याय दिन खोजिरहेको छु त्यही भएर राम्रो सहसचिव ठानेर न्यौपानेलाई मैले काजमा मेरो मन्त्रालयमा हाजिर गराएको हुँ ।'
फोनवार्ता प्रस्टै हुन्थ्यो- 'मन्त्रिपरिषदले न्यौपानेलाई विज्ञान मन्त्रालयमा लाने निर्णय गरेको थाहा पाउँदापाउँदै सरकारी निर्णय मिचेर किन सामान्य लग्नुभयो' आफूलाई एकोहोरो सोधिरहेपछि यादव सोझो तालमा कड्किए- 'मन्त्रिपरिषदका कति निर्णय परिवर्तन भएका छन् कति राम्रो कामका लागि एउटा सहसचिवको निर्णय परिवर्तन गर्न किन नहुने ?' आफ्नो मन्त्री आफैंसित एकोहोरो कड्किइरहेको सुनेर भट्टराईले ुप्रधानमन्त्रीसँगै मुखमुखै लाग्ने भनेर हकारे । त्यसपछिमात्र यादवले आफूले प्रधानमन्त्रीसँग फोनवार्ता गरिरहेको थाहा पाए । त्यसपछि फोनमा 'पीएम सा'व' भन्दै थिए । प्रधानमन्त्रीबाट फोन काटियो । त्यसपछि उनी एकाएक गम्भीर भए उनमा चिटचिट पसिना आयो । उनका स्वकीयसचिव कमल गिरीलाई फोन आयो उनले प्रधानमन्त्रीले रिसाएर भनेका कुरा कागजमा टिपोट गरेर दिए । त्यसपछि मन्त्री झन् गम्भीर र कालो नीलो भएर भने 'मलाई कोही सहसचिव पनि चाहिएन आज म कसैसित कुरा पनि गर्दिन गइहाल्नोस्' भनेर पत्रकार र भेट्न आएका सबैलाई फर्काइदिए ।
मन्त्री यादव र विज्ञानमन्त्री कल्पना धमलाबीच सहसचिव न्यौपानेलाई आ-आफ्नो मन्त्रालयमा राख्न हानाथाप चलेको रहेछ । धमलाले मन्त्रिपरिषद्बाट आफ्नो मन्त्रालयमा सार्ने निर्णय भएका सहसचिव न्यौपानेलाई यादवले बीचैमा काजमा भनेर सामान्य लगेको गुनासो गरेपछि प्रधामन्त्रीले फोन गरेर यादवलाई सम्झाउने प्रयास गरेका रहेछन् । मन्त्रिपरिषदका् सोमबारको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव न्यौपानेलाई विज्ञानमा र विज्ञानका मुकुन्दराज प्रकाशलाई सार्वजनिक खरिदमा सरुवा गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदले निर्णय गरे पनि दुवै सहसचिवलाई सरुवाको पत्र दिन बाँकी छ । चिठी दिन बाँकी रहेकै बेला मन्त्रीद्वयबीच न्यौपानेलाई लिएर हानाथाप चलेको हो । न्यौपानेलाई हात पार्न सामान्य प्रशासनमन्त्री सफल हुन्छन् कि विज्ञानमन्त्री त्यो हेर्न अझै एक/दुई दिन प्रतीक्षा गर्नै पर्छ ।

No comments:

Post a Comment