Friday, January 20, 2012

ऊर्जामन्त्री र राज्यमन्त्रीले चमेलियाको महँगो गाडी खोसेर चढे

दुवैको नम्बर प्लेट नक्कली
काठमाडौं, ६ माघ- सत्तारुढ नेताहरुले चमेलिया जलविद्युत् आयोजनाको महँगो विलाशी गाडी जबर्जस्ती खोसेर चढ्ने क्रम रोकिएको छैन । चमेलियाको विलाशी टोयोटा प्राडो गाडी शयर गर्ने पछिल्लो पात्र हुन्- ऊर्जा मन्त्री पोष्टबहादुर बोगटी ।
उनले बिहीबारदेखि चमेलिया आयोजनाको बा ६ च १००९ नं. को गाडी जबर्जस्ती मन्त्रालयमा ल्याएर चढ्न थालेका छन् । चमेलियाको उक्त गाडीमा बा १ झ १००९ नं. को मन्त्रीको विशेष प्रकार रातो-नीलो रंगको नम्बर प्लेटसमेत राखिसकिएको छ । मन्त्रीमा सबभन्दा महँगो गाडी चढ्दै आएका बोगटीले वैकल्पिक गाडीका रुपमा करबाहेक १ करोड २ लाख रुपैयाँ पर्ने अर्को टोयोटा प्राडोसमेत चढ्न थालेका हुन् । उक्त गाडी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले चढ्दै आएका थिए ।
प्रधानमन्त्री बाबुराम भट्टराईले स्वदेशमै एसेम्बल्ड सस्तो मुस्ताङ गाडी चढ्न थालेपछि बोगटी तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले चढ्दै आएको विलाशी गाडी चढ्न पाउने भाग्यमानी मन्त्री हुन् । प्रधानमन्त्रीले चढ्ने विलाशी गाडी पाएका मन्त्रीले वैकल्पिक गाडीका रुपमा अर्को टोयोटा प्राडो खोज्नु गाडी मोहबाहेक केही नभएको स्रोतले उल्लेख गरेको छ ।
ऊर्जा मन्त्रालयको मन्त्री निकट स्रोतले भने बोगटीले चढ्दै आएको गाडी दुर्घटनामा परी बिग्रेर मर्मतमा रहेकाले उनलाई अर्को गाडी दिइएको दाबी गरेको छ । तर ऊर्जाकै अर्को स्रोतले मर्मतका नाममा बोगटीले चमेलियाको गाडीमा रातो-नीलो प्लेट राखेर आफू पदमा रहिन्जेलसम्मका लागि लगेको उल्लेख गरेको छ । 'एक/दुई दिन मर्मत भइन्जेलका लागि भएको भए अर्को गाडीमा मन्त्रीको रातो नीलो नम्बरको प्लेट हालिने थिएन' स्रोतले भने ।
भट्टराई सरकारका पालामा चमेलियाको गाडी जबर्जस्ती लिएर चढ्ने बोगटी दोस्रो व्यक्ति हुन् । यसअघि ऊर्जा राज्यमन्त्री सूर्यमान दोङले नै आफ्नो मन्त्रालय मातहतको चमेलिया आयोजनाकै बा ६ च १०३१ नं. को विलाशी गाडी चढेका छन् । राज्यमन्त्री चढ्न उक्त गाडीमा रातो-नीलो नम्बरको प्लेट बा १ झ १०३१ राखिएको छ ।
मन्त्री बोगटी र राज्य मन्त्री दोङ दुवैको गाडीको नम्बर प्लेट नक्कली भएको जानकारी यातायात विभागको स्रोतले दिएकेा छ । निजी नम्बर प्लेट बा ६ च १००९ र १०३१ का ठाउँमा विभागमा दर्ता नै नगरी रातो-नीलो प्लेटमा सरकारी नम्बर बा १ झ १००९ र १०३१ राखिएको छ । त्यति नम्बरका अरु नै सरकारी गाडी विभागमा दर्ता छन् र ती गाडी राजधानीमा नै गुडिरहेका छन् ।
चमेलिया आयोजनाका लागि ९ वटा गाडी आवश्यक महसुस गरेर एउटै लटमा नौवटा टोयोटा प्राडो झिकाइएको थियो त्यसमध्ये सातवटा गाडी चमेलिया आयोजनासँग असम्बबन्धित व्यक्तिकहाँ पुगिसकेका छन् । आयोजनाका काममा दुइटा गाडीमात्र बाँकी छन् । एउटा गाडी आयोजनाका स्थलगत रुपमा कार्यरत इन्जिनियरले र अर्को आयोजनाकै परामर्शदाताले चढेका छन् ।
चमेलियाको गाडी उपराष्ट्रपति परमानन्द ऊर्जा मन्त्री बोगटी र राज्यमन्त्री बोगटीले चढ्दै आएका छन् । यसअघि पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल चढ्दै आएको चमेलियाको गाडी सर्वोच्च अदालतको निर्णयले खोसिएपछि मन्त्रिपरिषदको कार्यालयमा राखिएको छ ।
मन्त्रिपरिषदको तजबिजी निर्णयबाट पूर्व प्रधानमन्त्रीहरुलाई ती गाडी दिइएकाले सर्वोच्चको निर्णयबाट खोसिएका हुन् । सरकारले विधि पुर् याएर ती गाडी तिनै पूर्व प्रधानमन्त्रीहरुलाई नै दिन मन्त्रिपरिषद कार्यालय परिसरमा सुरक्षित राखिएको जानकारी स्रोतले उल्लेख गरेको छ । उपराष्ट्रपति झा र पूर्व प्रधानमन्त्रीहरुले चढेको गाडी भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चमेलिया आयोजनाबाट सरकारका नाममा खरिद गरिसकेको छ ।

No comments:

Post a Comment