Friday, November 25, 2016

उपचारका नाममा ३ करोडभन्दा बढी वितरण

उपचार खर्च पाउने अधिकांश पहुँचवाला
काठमाडौं, १० मंसिर– प्रभावशाली नेतासहितका पूर्व तथा वर्तमान पदाधिकारीलाई जथाभावी आर्थिक सहयोग वितरण गरिरहेकामा चर्को विरोध भइरहे पनि सरकारले उपचारका नाममा राज्यको ढुकुटी रित्याउने क्रमलाई जारी राखेको छ ।
सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दलहरूको दबाब र सिफारिसमा सरकारले प्रभावशाली नेता–कार्यकर्तालाई उपचारलगायतका नाममा सहयोग वितरणलाई जारी राखेको हो । पछिल्लो दुई महिनामा सरकारले मन्त्रिपरिषदबाट निर्णय गराई तीन करोड रुपैया“भन्दा बढी रकम वितरण गरिसकेको छ । यसमा उपचारका लागि पूर्वराष्ट्रपति रामवरण यादवलाई ६० लाख र कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख दिइएको रकम जोडिएको छैन ।

सरकारले माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीका नाममा खुलेको स्मृति प्रतिष्ठानलाई १० लाख, कानुन आयोगका पूर्व अध्यक्ष एवं वरिष्ठ कानुन व्यवसायी उमेशचन्द्र झालाई २ लाख, विष्णुकुमारी पोखरेललाई १० लाख, मोसाफिर दास तत्मालाई ३ लाख, सञ्जु देवीलाई २ लाख, वीरगन्ज शाहीलाई २ लाख रुपैया“ वितरण गरेको छ ।
गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको एउटै निर्णयबाट रामप्रसाद श्रेष्ठसहित ४४ जनालाई २ करोड रुपैया“भन्दा बढी आर्थिक सहायता प्रदान गरिएको छ । ४४ जनाले राज्यको ढुकुटीबाट थोरैमा ५० हजारदेखि बढीमा ५ लाख रुपैया“सम्म आर्थिक सहायता पाएका छन् । उनीहरूलाई केका लागि आर्थिक सहायता दिइएको भन्ने मन्त्रिपरिषद निर्णयमा उल्लेख छैन । आर्थिक सहायता पाएकामा सत्तारूढ दल र तिनका नेताका निकटस्थ र प्रभावशाली कार्यकर्ता छन् ।
मधेस केन्द्रित दलको दबाबमा समेत सरकारले मधेस आन्दोलनका घाइतेहरूका नाममा दोहोरो उपचार खर्च दिएको छ । गृह मन्त्रालयबाट निर्णय गराई मधेस आन्दोलनका घाइते ३२ जनालाई एकमुष्ठ ३१ लाख ३४ हजार रुपैया“ उपचार खर्च प्रदान गरेको छ । मधेस आन्दोलनका घाइतेहरूको उपचार गराएका ९ वटा अस्पताललाई छुट्टै १ करोड ६ लाख रुपैया“ अनुदान दिएको छ । मधेसी नेताको दबाबमा आन्दोलनका घाइतेको उपचारका नाममा अस्पताल र व्यक्तिलाई छुट्टाछुट्टै आर्थिक सहायता र अनुदान सहयोग दिनुपरेको जानकारी गृह मन्त्रालय स्रोतले दिएको छ । घाइतेहरूलाई दिएको उपचार खर्च मधेसी दलका नेताहरूले कार्यकर्तामार्फत् आफैंले बुझेर लगेको जानकारी स्रोतले दिएको छ । गृह मन्त्रालयको प्रस्तावमा अस्पताल र घाइतेहरूलाई दिइएको उपचार खर्चको विवरण सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा राखी सार्वजनिक गरेको छ । सरकारले प्रभावशाली नेताहरूलाई दिइएको ठूलो राशीको उपचार खर्च भने सार्वजनिक गरेको छैन ।





No comments:

Post a Comment