Friday, November 25, 2016

आगामी मसिंर ३० र पुस १ मा ऊर्जा सम्मेलन

काठमाडौं, १० मंसिर– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले आगामी मंसिर ३० र पुस १ गते राजधानीमा ‘ऊर्जा सम्मेलन’ गर्ने भएको छ । इपानले मुलुकको ऊर्जा क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनको वातावरण बनाउन सम्मेलन गर्न लागेको हो ।
सम्मेलनमा भारत, चीन, बंगालदेश, पाकिस्तान, अमेरिका, बेलायत, नर्वेलगायतका देशबाट जलस्रोत क्षेत्रका लगानीकर्ता, विज्ञ र नीतिनिर्माताहरूको सहभागिता रहने जानकारी इपानका उपाध्यक्ष शैलेन्द्र गुरागाईंले दिए ।
इपानका अध्यक्ष खडगबहादुर बिष्टले ऊर्जा मन्त्रालयको संरक्षकत्वमा हुने सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सरोकार भएका निकायका प्रतिनिधिहरूसमेत सहभागिता रहने जानकारी दिए ।

दुई दिने सम्मेलनबाट अरू देशको अनुभवबाट मुलुकमा जलविद्युत क्षेत्रको विकासमा बाधकका रूपमा रहेको झन्झटिलो नीतिगत प्रक्रिया हटाउन र स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउन मद्दत पुग्ने विश्वास इपानको छ ।
इपानले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मुलुकको ऊर्जा संकटलाई समाधान गर्न तत्कालका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने भए पनि दीर्घकालमा त्यसले प्रभाव पार्ने भएकाले नेपाली लगानीकर्ताहरूलाई विद्युत उत्पादनमा प्रोत्साहित गर्न र आवश्यक सहयोग उपलब्ध गराउन माग गरेको छ ।
‘भारतबाट बिजुली आयात गर्ने मानसिकता त्यागेर मुलुकभित्रै विद्युत उत्पादन बढाउनेतर्फ सरकार र निजी क्षेत्र दुवै लाग्नुपर्छ’ विष्टले भने । त्यसका लागि नेपाली लगानीकर्ताहरूलाई नै विश्वासमा लिएर सरकारले काम गर्नुपर्ने धारणा उनको थियो ।


No comments:

Post a Comment