Friday, December 23, 2016

प्राधिकरणका तीन सदस्य पदमुक्त, तीनै जना थपिए

काठमाडौं, ८ मंसिर– ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणको सञ्चालक समितिका तीन सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई सोमबार पदमुक्त गरेको छ । ऊर्जा मन्त्री जनार्दन शर्माले प्राधिकरणका काममा अवरोध पु¥याएको र कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको आरोप लगाई मन्त्रालयस्तरीय निर्णयबाट तीन जनालाई पदबाट हटाएका हुन् ।

मन्त्रालयले कानुनले तोकेको दायित्व पूरा नगरी किन प्राधिकरण र कार्यकारी निर्देशकलाई असहयोग गरेको भन्दै उनीहरूसित स्पष्टीकरणसमेत लिएको थियो । मन्त्रालयले उनीहरूले दिएको लिखित स्पष्टीकरण चित्तबुझो नभएको भन्दै हटाएको जानकारी स्रोतले दिए ।

अग्रवाल, मिश्र र लामिछानेले प्राधिकरण ऐन र नियमावलीविपरीत कार्यकारी निर्देशक घिसिङले प्राधिकरणका सहायक कम्पनीहरूमा प्रमुख र सञ्चालक तोक्ने काम गरेको भन्दै लिखित असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूले कानुनबमोजिम सहायक कम्पनीमा प्रमुख र सञ्चालक तोक्ने दायित्व सञ्चालक समितिको भएको उल्लेख गर्दै त्यसैअनुरूप निर्णय हुनुपर्ने जिकिर गर्दै आएका थिए । आफूहरूको लिखित असन्तुष्टि सम्बोधन नभएपछि तीनै जनाले सञ्चालक समितिको निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गर्दै आएको थिए । त्यसैलाई आधार बनाई मन्त्रालयले तीन जनामाथि प्राधिकरणको काम र कार्यकारी निर्देशक घिसिङको लोडसेडिङमुक्त अभियानलाई असहयोग गरेको भन्दै स्पष्टीकरणको प्रक्रिया पु¥याई हटाएको हो । अग्रवाल, मिश्र र लामिछाने अघिल्लो सरकारका पालामा सञ्चालक नियुक्त भएका थिए ।
मन्त्रालयले रिक्त तीन सञ्चालक सदस्यमा भक्तबहादुर पुन, चेतराज जोशी र उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । मन्त्रालयले पुनलाई उपभोक्ताबाट, जोशी र थानीलाई विद्युत क्षेत्रमा कार्यरत इन्जिनियरमध्येबाट सञ्चालक नियुक्त गरेको हो । पुन र जोशी सत्तारूढ माओवादी केन्द्र तथा थानी कांग्रेस निकट हुन् ।

No comments:

Post a Comment