Thursday, December 29, 2016

बुढी गण्डकी आयोजना अघि बढाउन सहजीकरण इकाइ


काठमाडौं, १४ पुस– सरकारले १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी आयोजना अघि बढाउन उच्चस्तरीय ‘जग्गा प्राप्ति, वातावरण तथा पुनर्बास सहजीकरण इकाइ’ गठन गर्ने भएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार गठन हुन लागेको इकाइले धादिङ र गोरखाका प्रमुख जिल्ला अधिकारीसित समन्वय गरी आयोजनास्थलमा परेका घरजग्गाको मुआब्जा वितरण र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनको कार्यान्वयन गर्ने र घरबार छाड्न बाध्य स्थानीयबासीलाई उचित ठाउ“ खोजेर पुनर्बास गराउने कार्य गर्ने जानकारी ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्थले दिए । 
प्रमुख र विज्ञ नियुक्त भएपछि इकाइ विधिवत रूपमा गठन हुनेछ । जग्गा प्राप्ति, वातावरण तथा पुनर्बासको कामलाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रिपरिषदले इकाइ गठन गर्ने निर्णय गरेको हो ।

उनका अनुसार इकाइले बुढी गण्डकी जलविद्युत आयोजना विकास समिति समन्वय गरेर काम अघि बढाउनेछ । ऊर्जा मन्त्रालयले खुल्ला प्रतिस्पर्धाबाट इकाइ प्रमुख नियुक्त गर्न १५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ । एक÷दुई दिनभित्रै ऊर्जा मन्त्रालयले गठन गर्ने छनौट समितिले आवेदकहरूमध्येबाट जग्गा प्राप्ति, पुनर्बास र वातावरणका विषयमा लिखित प्रस्तुति गर्न लगाई अन्तर्वार्ता लिएर इकाइ प्रमुख सिफारिस गर्नेछ । ऊर्जा मन्त्रालयले समितिको सिफारिसमा इकाइ प्रमुख नियुक्त गर्नेछ, प्रमुख सहसचिवस्तरको हुनेछन् । मन्त्रालयले इकाइमा एक जना विज्ञसमेत नियुक्त गर्नेछ । प्रमुख र विज्ञ नियुक्त भएपछि इकाइले बुढी गण्डकीको आयोजनास्थलमै गएर जग्गा प्राप्ति, ईआईए प्रतिवेदन कार्यान्वयन र पुनर्बासको कामलाई तीव्र गतिमा अघि बढाउनेछ । इकाइले काम अघि बढाएपछि बुढी गण्डकी आयोजना विकास समितिलाई ठेक्का आह्वान गरी निर्माण कार्य सुरु गर्न बाटो खुल्नेछ ।

No comments:

Post a Comment