Thursday, December 8, 2016

कांग्रेसद्वारा पुस मसान्तभित्र ५ जिल्ला नेतृत्व चयन गर्न निर्देशन

काठमाडौं, २३ मंसिर– कांग्रेसले आगामी पुस १५ भित्र ५ वटा जिल्ला कार्यसमितिलाई नया“ नेतृत्व चयन गर्नका लागि आगामी पुस मसान्तभित्र निर्वाचन गराउन निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयले बुधबार सर्कुलर जारी गरी डेमोक्रेटिक लयर्स एसोसिएसन, शिक्षक संघसहित पार्टीका भातृ संस्थाको सहयोगमा ५ वटाको जिल्ला अधिवेशन र धनुषा–५ को क्षेत्रीय अधिवेशन गराउन जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको हो ।  

कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशनअगाडि आन्तरिक विवादका कारण जिल्ला अधिवेशन हुन नसकेका धनुषा, सिराहा, महोत्तरी, डोल्पा र पर्साको जिल्ला कार्यसमितिलाई पुस मसान्तभित्र निर्वाचन गरी नया“ नेतृत्व छनौट गरिसक्न निर्देशन दिएको हो । जिल्ला अधिवेशन हुन नसकेकाले ती जिल्लामा नया“ नेतृत्व चयन हुन सकेको छैन । त्यही कारण अघिल्लै अधिवेशनमा निर्वाचित पदाधिकारीले तदर्थ रूपमा कार्य गर्दै आएका छन् ।

संखुवासभाको सभापति गोलाबाट छानिने
कांग्रेसले अघिल्लो वर्ष माघ २५ मा जिल्ला अधिवेशनका क्रममा बराबर मत आएका कारण सभापति चयन हुन नसकेको संखुवासभाको हकमा भने आगामी पुस १० गते केन्द्रीय कार्यालयमा नै गोला प्रथा गराउने भएको छ । कांग्रेस विधानअनुसार बराबर मत पाएका दिपनकुमार श्रेष्ठ र पासाङ शेर्पामध्ये गोला प्रथाबाट जो छनौट हुन्छ उही नै पार्टी सभापति हुनेछन् । कांग्रेस केन्द्रीय कार्यालयले गोला प्रथाका लागि दुवै उम्मेदवारलाई पार्टी कार्यालय सानेपामा अनिवार्य उपस्थित हुन सर्कुलर गरेको छ । संखुवासभामा जिल्ला कार्यसमितिका अरू पदाधिकारी र सदस्य भने पहिल्यै छनौट भइसकेका छन् ।

No comments:

Post a Comment