Friday, February 6, 2015

१७ सहसचिव विशिष्ट श्रेणीमा बढुवा

बढुवामा कांग्रेस र एमालेबीच भागबण्डा
काठमाडौं, २३ माघ– सरकारले १७ सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बढुवा समितिले सिफारिस गरेका सहसचिवहरूमध्येबाट सचिवमा पदोन्नति गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
बढुवा समितिले पुस २७ मा सिफारिस गरे पनि कांग्रेस र एमालेबीच कस–कसलाई बढुवा गर्ने भागबण्डा नमिलेका कारण सचिवको पदोन्नतिको निर्णय झन्डै एक महिना ढिलो गरी भएको हो । तेब्बर संख्यामा सिफारिस भएका सहसचिवबाट बढुवा हुने १३ पदमा कांग्रेसको कोटामा ७ र एमालेका ६ जना भागबण्डा गरी पदोन्नति गरिएको हो ।
कांग्रेसले ९ कामु सचिवमध्ये सबैलाई बढुवा गर्नुपर्ने अडान राख्दै आएको थियो । तर, एमालेले कामु सचिवमा आफ्ना मान्छे कम भएको भन्दै कांग्रेससित असहमति राखेको थियो । एमालेलाई ६ जना कोटा दिने सहमति गर्दा नौ कामु सचिवमध्ये एक जना शंकर कोइरालामात्र बढुवामा परेनन् ।

सरकारले निजामती सेवा ऐनको वरिष्ठबाट बढुवा हुने २० प्रतिशत सिट अर्थात् तीन सचिवमा सबभन्दा वरिष्ठ सहसचिवहरू सुरेशप्रकाश आचार्य, शरदराज बिष्ट र गजेन्द्र ठाकुरलाई बढुवा गरेको छ । बढुवा समितिले वरिष्ठबाट बढुवा हुने तीन सचिवका लागि आचार्य, बिष्ट र ठाकुरको नाम सिफारिस गरेको थियो ।
सरकारले निजामती ऐनअनुसार ८० प्रतिशत सिटका लागि सिफारिस भएका ३९ जना सहसचिवमध्येबाट १३ जनालाई सचिवमा बढुवा गरेको छ । यो प्रावधानअनुसार बढुवा समितिले आवश्यक सिटभन्दा तेब्बर संख्यामा नाम सिफारिस गर्ने, तिनबाट सरकारले रोजेर पदोन्नति गर्छ ।
यो प्रावधानअनुसार सचिव बढुवा भएकामा सुनिलबहादुर मल्ल, खुमराज पुञ्जाली, प्रेमकुमार राई, ईश्वरीप्रसाद पौडेल, रमेशकुमार शर्मा, टंकमणि शर्मा, दिनेश थपलिया, विजयकुमार मल्लिक, राजन खनाल, नवराज भण्डारी, श्रीधर सापकोटा, रामकुमार आचार्य र लक्ष्मण मैनाली छन् ।
मन्त्रिपरिषदले छ महिनाअघि १३ जना सहसचिवलाई कायममुकायम सचिव बनाएकामध्ये ९ जना बढुवाको सिफारिसमा परेका थिए । मन्त्रिपरिषदले ९ कामु सचिवमध्ये ८ जनालाई सचिव बढुवा गरेको छ । कामु सचिवमध्ये क्षेत्रीय प्रशासक रहेका शंकर कोइराला एक जनालाई मात्रै बढुवा गरिएको छैन । एक जना कामुलाई बढुवा नगरेर कोइरालामाथि मन्त्रिपरिषदले अन्याय गरेको स्रोतले उल्लेख गरेको छ । ‘कामु सचिव सिफारिसमा पर्दा पनि बढुवा नगरिनु अन्यायपूर्ण हो र निजामती ऐनको मर्मविपरीत कार्य हो’ स्रोतले भन्यो । कामु सचिवहरू जीवनप्रभा लामा, शंकर बैरागी, अन्नपूर्णनन्द दास र देवेन्द्र सिटौला भने बढुवाको सिफारिसमा नै परेका थिएनन् ।
कामु सचिवहरू सूचना तथा सञ्चारका मल्ल, शान्ति मन्त्रालयका पुञ्जाली, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका राई, जल तथा ऊर्जा आयोगका पौडेल, सतर्कता केन्द्रका रमेशकुमार शर्मा, सार्वजनिक खरिद अनुगमन कार्यालयका टंकमणि शर्मा, क्षेत्रीय प्रशासक (पश्चिमाञ्चल) थपलिया र क्षेत्रीय प्रशासक (मध्यपश्चिम) मल्लिक भने बढुवामा परेका छन् ।
यसपटक न्याय समूहका तीन जना सहसचिव लक्ष्मण मैनाली, श्रीधर सापकोटा र रामकुमार आचार्य सचिव बढुवा भएका छन् । सचिव बढुवा भएकामा चार जना इन्जिनियरिङ सेवाका आचार्य, ठाकुर, मल्ल र पौडेल, सामान्य प्रशासन समूहका नौ जना शरदराज बिष्ट, खुमराज पुञ्जाली, प्रेमकुमार राई, रमेशकुमार शर्मा, टंकमणि शर्मा, दिनेश थपलिया, विजयकुमार मल्लि, राजन खनाल र नवराज भण्डारी छन् ।
कामु सचिवबाट बढुवा भएका आठ जनालाई मन्त्रिपरिषदले सोही ठाउ“मा काम गर्ने जिम्मेवारी दिएको छ भने बा“की ७ जनालाई भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । सचिवहरूको पदस्थापनको निर्णय केही दिनपछि हुनेछ ।
श्रेष्ठ विशिष्ट श्रेणीमा बढुवा
सरकारले महालेखा परिक्षकको कार्यालयमा नायव महालेखा परिक्षक ईश्वरराज श्रेष्ठलाई उपमहालेखा परिक्षक (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ । उनलाई बढुवा समितिको सिफारिसमा बढुवा गरिएको हो ।
समितिमा श्रेष्ठ नियुक्त
सरकारले अन्तरदेशीय धर्मपुत्र तथा धर्मपुत्री व्यवस्थापन विकास समितिको अध्यक्षमा पूर्वसचिव महेन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । जडिबुटी प्रशोधन केन्द्रको अध्यक्षमा अर्को व्यवस्था नभएसम्मका लागि वनस्पति विभागका महानिर्देशक यामबहादुर थापालाई नियुक्त गरिएको छ ।
४० लाख आर्थिक सहयोग
सरकारले तमु गुरुङ संग्रहालय भवन निर्माणका लागि २५ लाख र थारु कल्याणकारी सभा तथा नेपाल मगर सघलाई ५÷५ लाख रुपैया“ आर्थिक सहायता दिएको छ ।








No comments:

Post a Comment