Saturday, February 24, 2018

राष्ट्रियसभामा मनोनयनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १३ फागुन– राष्ट्रियसभा सदस्यका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट सिफारिसमा परेका, तर मनोनयनमा नपरेका तीन जनाले राष्ट्रपति विद्या भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालत गुहारेका छन् । तत्कालीन देउवा सरकारले राष्ट्रियसभा सदस्यका लागि चा“दनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेललाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले उनीहरूको सिफारिस प्रधानमन्त्रीमा केपी ओली नियुक्त नभएसम्मका लागि थन्क्याएर राखेकी थिइन् ।
ओलीले प्रधानमन्त्री हुनासाथ उनीहरू तीनै जनाको नाम फिर्ता लिई नया“ नाम सिफारिस गरेका थिए । ओली सरकारको सिफारिसमा राष्ट्रपतिले युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई राष्ट्रयसभा सदस्य मनोनयन गरेकी छन् ।

राष्ट्रियसभा सदस्यका लागि सिफारिसमा परेका, तर मनोनयनमा नपरेका बस्नेत, पौडेल र जोशीले राष्ट्रपतिको ‘असंवैधानिक निर्णय’ खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरूले आफूहरूको नाम विस्थापित गरी अरू तीन जनालाई सरकारले मनोनयनका लागि सिफारिस गर्नु र राष्ट्रपतिले कार्यान्वयन गर्नु संविधानविपरीत भएको दाबी गरेका छन् । रिटमा उनीहरूले राष्ट्रपति भण्डारीले सिफारिस अडकाएर गैर संवैधानिक कार्य गरेको दाबी गर्दै पुरानै सिफारिस कार्यान्वयनका लागि अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । रिटमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, मन्त्रिपरिषद,  राष्ट्रयसभामा मनोनीत तीन सदस्यलगायतलाई विपक्षी बनाएका छन् ।

No comments:

Post a Comment