Friday, February 2, 2018

प्रधानन्यायाधीशको नागरिकताबारे जानकारी माग्दै केसीको निवेदन

काठमाडौं, १९माघ– सामाजिक अभियन्ता डा. गोविन्द केसीसहितले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकताका बारेमा जानकारी माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । 
उनीहरूले पराजुलीको सक्कली नागरिकता र प्रतिलिपिमा जन्ममिति फरक फरक पाइएकाले के कति कारणले उमेर फरक पारी तीन÷तीनवटा नागरिता जारी भएको होे भन्ने विषयको यथार्थ विवरण र आधिकारिक सूचना पाउने हक नेपालीलाई रहेको उल्लेख गरी जानकारी माग गर्दै लिखित निवेदन दिएका हुन् ।   
निवेदनमा डा. केसीका अतिरिक्त वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा. अभिषेकराज सिंह, शशिविक्रम कार्की, विनोद अर्याल र राजीव यादवले हस्ताक्षर गरेका छन् । 

‘हाल प्रधानन्यायाधीश रहेका शिवपुर–६ तनहु“का गोपाल पराजुलीको नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले फरक फरक समयमा फरक फरक उमेर उल्लेख गरी जारी गरेका नागरिकताका प्रमाणपत्रहरू क्रमशः जन्म मिति २१ वर्ष कायम गरी मिति २०३०÷४÷२१ मा जारी नागरिकता प्रमाणपत्र, त्यसको २०५३ मा जारी प्रतिलिपी तथा जन्म मिति २०१०÷१÷१६ कायम गरी २०६७ मंसिरमा जारी ना.प्र.नं २७।१८०३।४४१।३०१० को नागरिकता प्रमाणपत्रको प्रतिलिपी सम्बन्धमा लामो समयदेखि गम्भीर सार्वजनिक सरोकारको विवाद उत्पन्न भएको विदितै छ । के कति कारणले कुन निर्णयका आधारमा उमेर फरक पारी तीनवटा नागरिकता प्रमाणपत्र र प्रतिलिपी जारी गरिएको हो भन्ने विषयको यथार्थ एवं आधिकारिक सूचना पाउने हक नेपाली नागरिकलाई छ’ निवेदनमा भनिएको छ । 
उनीहरूले निवेदनमा पराजुलीको विवादित नागरिकताका प्रमाणपत्र र ती प्रमाणपत्र जारी गर्दा खडा गरिएका फाइल, सिफारिस, नागरिकता दिने वा प्रतिलिपि जारी गर्ने निर्णयलगायतका विषयहरू प्रधानन्यायाधीशको पदावधि, न्यायालयको गरिमा, न्याय प्रशासन तथा न्याय सम्पादस“ग प्रत्यक्ष रूपमा सम्बन्धित सूचना भएको उल्लेख गर्दै उपलब्ध गराउन माग गरेका छन् ।

No comments:

Post a Comment