Friday, June 29, 2018

गंगामायाको जीवनरक्षाका लागि संवेदनशील हुन आयोगको आग्रह

काठमाडौं, १४ असार– मानव अधिकार आयोगले आमरण अनसनरत गंगामाया अधिकारीको जीवनरक्षाका लागि संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले बिहीबार गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालस“गको भेटमा विगत ३० दिनदेखि अनसनरत अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उल्लेख गर्दै संवेदनशील हुन आग्रह गरेका हुन् ।
उनले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्न र रेडकर्नर नोटिस जारी भएका आरोपीलाई कूटनीतिक पहलमार्फत वा अन्य उपयुक्त तरिकाबाट नेपाल झिकाई कानुनबमोजिम कारवाही गर्न आग्रह गरे । प्रत्युत्तरमा गृहसचिव राईले अधिकारीको जीवनरक्षाका लागि सरकार सधैं संवेदनशील भएको उल्लेख गर्दै दण्डहीनताको अवस्था आउन नदिन अविलम्ब पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरी महानिरीक्षक खनालले सर्वोच्चको आदेशको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै रेडकर्नर नोटिस जारी भएको व्यक्तिलाई नेपाल ल्याउन प्रयास भइरहेको जानकारी गराए । 

यसैबीच नेपालका लागि राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियन्डले गंगामायाको जीवन रक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् । पुल्चोकस्थित राष्ट्रसंघीय आवासीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उनले नेपाल सरकार, मानव अधिकारसम्बन्धी संघसंस्था र अन्य सरोकारवालालाई भेटी गंगामायाको जीवनरक्षाका लागि आग्रह गरेका हुन् ।

No comments:

Post a Comment