Friday, October 19, 2012

अर्थसचिव बाँस्कोटासहित १२ सचिवको सरुवा

  • एघार सहसचिवलाई सचिवमा बढुवा
  • सुवेदी नयाँ अर्थसचिव
काठमाडौं, ३ कात्तिक- सरकारले एघार सहसचिवलाई विशिष्ट श्रेणी सचिव मा बढुवा गर्नुका साथै विभिन्न मन्त्रालयका १२ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले बढुवा समितिले सिफारिस गरेका ३३ जनामध्येबाट ११ जनालाई विशिष्ट श्रेणीमा बढुवा गरी सचिव रिक्त विभिन्न निकायमा पदस्थापन गरेको छ ।
मन्त्रिपरिषदले अर्थमन्त्रालयका कृष्णहरि बाँस्कोटासहित १२ सचिवको सरुवा गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा साचारमन्त्री राजकिशोर यादवले जानकारी दिए । बाँस्कोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कायाृल्यमा सरुवा गरिएको छ । प्रवक्ता यादवका अनुसार विशिष्ट श्रेणीमा बढुवा भएका शान्तराज सुवेदीलाई सबभन्दा आकर्षक मानिने अर्थसचिवमा पदस्थापन गरिएको छ । सुवेदी बढुवा हुने बित्तिकै आकर्षक मन्त्रालय पाउने भाग्यमानी सचिव भएका छन् । सुवेदी अर्थमन्त्रालयको सहसचिव थिए ।
सचिवमा बढुवा भएकामा नारायणगोपाल मलेगो, रणबहादुर श्रेष्ठ, आत्माराम पाण्डे उद्धवप्रसाद बाँस्कोटा, जनार्दन नेपाल, लक्ष्मणकुमार पोखरेल, शान्तबहादुर श्रेष्ठ, शारदाप्रसाद त्रिताल, शान्तराज सुवेदी, सुमनप्रसाद शर्मा र नरेन्द्र दाहाल छन् । आठ जना प्राविधिक सिफारिसमा परे पनि सुमन शर्मा एकजनामात्र सचिव बढुवामा परेका छन् । नौ जना प्रशासन समूह र एक जना नेपालमात्र शिक्षा समूहका सचिव बढुवामा परेका छन् ।
सचिव बढुवा भएका मलेगो र रणबहादुर श्रेष्ठ कामु सचिव भई पश्चिमााचल र पूर्वााचलमा क्षेत्रीय प्रशासक कार्यरत थिए । कामु सचिव भई क्षेत्रीय प्रशासक रहेका हरि दाहाल र फुल्गेन प्रधान सिफारिसमा नपरेकाले सचिव बढुवामा परेनन् । उनीहरु दुवै जनालाई पुनः कृषि मन्त्रालयकै सहसचिवमा फर्किएका छन् ।
सचिव बढुवा गर्दा धेरैजसो वरियताक्रमअनुसार नै गरिएको छ । तीन जनाको बढुवामा मात्र वरियता मिचिएको छ । सरकारले बढुवा समितिले सिफारिस गरेको वरिष्ठताक्रमअनुसार १ २ ३ ४ ५ ७ ९ १० १२ १३ १६ नम्बरका सहसचिवलाई सचिवमा पदोन्नति गरेको हो । वरियताक्रमममा छैटौं आठौं र एघारौं नम्बरमा रहेका अनुपकुमार उपाध्याय श्रीराजन लाकौल र शंकर अधिकारीलाई बढुवा नगरी उनीहरुभन्दा कनिष्ठ सुवेदी शर्मा दाहाललाई बढुवा गरिएको हो ।
पाण्डे एउटै परिवारबाट सचिव हुने तेस्रो व्यक्ति हुन् । तीन दाजुभाइ सचिव हुने उनीहरु सम्भवतः पहिलो हुन् । उनका दुई दाजु अनन्त पाण्डे र शंकर पाण्डे सचिव भइसकेका छन् । पाण्डेका कान्छा भाइ प्रद्युम्नराज पाण्डेसमेत कृषि मन्त्रालयमा उपसचिव छन् ।
सचिवहरु अर्थका कृष्णहरि बाँस्कोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, कृषि मन्त्रालयका गणेशराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, मन्त्रिपरिषदका कार्यालयका जयमुकुन्द खनाललाई कृषि मन्त्रालयमा, शान्ति मन्त्रालयका ध्रुव शर्मालाई राष्ट्रपति कार्यालयमा, युवा तथा खेलकुद मन्त्रालयका सुशील घिमिरेलाई शान्ति मन्त्रालयमा सरुवामा गरिएको छ ।
यसैगरी वातावरण मन्त्रालयका कृष्ण ज्ञवालीलाई उद्योग मन्त्रालयमा, भूमिसुधार मन्त्रालयका दिनेशहरि अधिकारीलाई महिला मन्त्रालयमा, उपराष्ट्रपति कार्यालयका हरि नेपाललाई युवा तथा खेलकुद मन्त्रालयमा, सहकारी तथा गरिबी निवारण मन्त्रालयका केशव भट्टराईलाई वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।
नयाँ बढुवा भएकामध्ये शान्ताबहादुर श्रेष्ठलाई भूमिसुधार मन्त्रालयमा रणबहादुर श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, लक्ष्मण पोखरेललाई उपरष्ट्रपति कार्यालयमा, नारायणगोपाल मलेगोलाई मन्त्रिपरिषद कार्यालयको सचिवमा पदस्थापन गरिएको छ । सचिव हुने बित्तिकै मन्त्रालय पाउने भाग्यमानीमा सुवेदी रणबहादुर श्रेष्ठ र शान्तबहादुर श्रेष्ठ परेका छन् ।
जलविद्युत् कम्पनीमा रौनियार
सरकारले जलविद्युत् विकास तथा लगानी कम्पनीको कार्यकारी दीपक रौनियार र नेपाल टेलिभिजनको महाप्रबन्धकमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । खुल्ला प्रतिस्पर्धाबाट छनौट भएका रौनियारलाई कार्यकारी निर्देशक नियुक्त गरिएको हो भने हुमागाईं टेलिभिजनमा पत्रकारका रुपमा कार्यरत थिए ।
सहायक रथीमा दुईको बढुवा
सरकारले नेपाली सेनाको प्राविधिक सहायक रथी यादव बिष्ट र भानुचन्द्र शाहलाई बढुवा गरेको छ ।









No comments:

Post a Comment