Wednesday, October 3, 2012

माओवादीको आडमा योग्यता नपुगेका व्यक्ति १३ महिनादेखि कार्यकारी निर्देशक

अख्तियार र सतर्कता केन्द्रद्वारा छानबिन
काठमाडौं, १७ असोज- सरकारले उद्योग मन्त्रालय मातहतको घरेलु तथा साना उद्योग विकास समितिमा कानुनविपरीत योग्यता नपुगेका माओवादी कार्यकर्ता जयनारायण महतोलाई कार्यकारी निर्देशक नियुक्त गरी लामो समयसम्म पदमा राखिरहेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले प्रश्न उठाएका छन् ।
समिति घरेलुको कार्यकारी निर्देशक हुन स्नातक तह उत्तीर्ण हुनुपर्नेमा सरकारले कानुन मिचेर आई्रएस्सीमात्र पास गरेका महतोलाई नियुक्त गरेको र योग्यता नपुगेको थाहा भएपछि पनि तेह्र महिनासम्म नहटाएकामा अख्तियार र केन्द्रले प्रश्न उठाई छानबिन सुरु गरेको जानकारी स्रोतले दिएका छन् ।
कानुनअनुसार कार्यकारी निर्देशक हुन महतोको योग्यता नपुगेको पुष्टि भए पनि उद्योगमन्त्री अनिल झाले प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी पार्टीले संरक्षण दिएका कारण कुनै कारबाही गर्न नसकेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
विद्यमान कानुन समितिसम्बन्धी नियमाली र अर्थमन्त्रालयको निर्देशनअनुसार कार्यकारी निर्देशक हुन कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्छ । सरकारले आईएस्सीमात्र उत्तीर्ण महतोलाई कार्यकारी निर्देशक राखिरहेकामा अख्तियार र केन्द्रले छानबिन सुरु गरेका हुन् ।
तत्कालीन उद्योगमन्त्री महेन्द्र पासवानको प्रस्तावमा सरकारले महतोलाई २०६८ भदौमा समितिको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । नियुक्ति हुँदा महतोले सरकार र उद्योग मन्त्रालयलाई आफ्नो योग्यताको प्रमाणपत्रसमेत पेस गरेका थिएनन् ।
अख्तियार र केन्द्रले प्रश्न उठाएपछि मन्त्रालयले योग्यताको प्रमाणपत्र बुझाउन ताकेता गर्दा पनि महतोले दिन नमानेको जानकारी उद्योग मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार महतोले आफूले योग्यताको प्रमाणपत्र अख्तियारलाई बुझाएको दाबी गर्दै सतर्कता केन्द्र र मन्त्रालयलाई बुझाउन अस्वीकार गर्दै आएका छन् ।
माओवादी पार्टी र प्रधानमन्त्रीको आडमा महतोले मन्त्रालय र सतर्कता केन्द्रको निर्देशनलाई नमानेको जानकारीसमेत ती अधिकारीले दिए । उनले अख्तियारलाई भने प्रमाणपत्र बुझाएका छन् ।
अख्तियारलाई प्रमाणपत्र बुझाएपछि उनको योग्यता नपुगेकोमात्र होइन आईएस्सीको प्रमाणपत्रसमेत नक्कली रहेको प्रश्नसमेत उठेको छ । महतोले नेपालबाट एसएलसी पास गरेको १७ महिनामै बिहारबाट आईएस्सी उत्तीर्ण गरेको कलेजको लेटरप्याडको अक्षर शब्द र मोडेल फरक भएको चारित्रिक प्रणापत्रमा सम्बन्धित विद्यार्थीले कुन तह र के विषय पढेकोसमेत उल्लेख नभएको पाइएको जानकारी समितिका एक अधिकारीले दिए ।

No comments:

Post a Comment