Wednesday, July 10, 2013

छ विद्युत आयोजनालाई निर्माण अनुमति

ती आयोजनाबाट ५७.७ मेगावाट विद्युत् उत्पादन हुने
काठमाडौं, २५ असार– ऊर्जा मन्त्रालयले पछिल्लो डेढ महिनामा छवटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति (जेनेरेसन लाइसेन्स) दिएको छ । ती छ आयोजनाको कुल विद्युत् उत्पादन क्षमता ५७.७ मेगावाट रहेको जानकारी विद्युत् विकास विभागका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार गत असार २ देखि हालसम्म ऊर्जा मन्त्रालयले विद्युत् विकास विभागको सिफारिसमा इन्जिनियरिङ अध्ययन कार्य सम्पन्न गरिसकेका स्वदेशी जलविद्युत् प्रवद्र्धकहरूका छवटा आयोजना निर्माणमा जान अनुमति दिएको हो ।
जेनेरेसन लाइसेन्स पाउनेमध्ये खानी खोला सबभन्दा ठूलो क्षमताको आयोजना हो । दोलखा जिल्लामा पर्ने यो आयोजनाबाट ३० मेगावाट विद्युत् उत्पादन हुनेछ । यो आयोजना सशा इन्जिनियरिङ हाइड्रोपावर प्रालिले बनाउन लागेको हो ।
दोस्रो ठूलोमा मिडल मोदी जलविद्युत् आयोजना छ । पर्वत जिल्लामा पर्ने यो आयोजनाको विद्युत् उत्पादन क्षमता १५.१ मेगावाट रहेको छ । यो आयोजना मिडल मोदी हाइड्रोपावर लिमिटेडले बनाउन लागेको हो ।
जेनेरसन लाइसेन्स पाएकामा ४ मेगावाटको सार्दी खोला (कास्की), ३ मेगावाटको माथिल्लो पुवा–१ (इलाम), ३.२ मेगावाटको गेलुन खोला (सिन्धुपाल्चोक) र २.५ मेगावाटको दराम खोला (बाग्लुङ) छन् । ती आयोजना क्रमशः मन्दाकिनी हाइड्रोपावर लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, गेलुन खोला हाइड्रोपावर लिमिटेड र सयपत्री हाइड्रोपावर प्रा.लिले बनाउन लागेका हुन् ।
जेनेरेसन लाइसेन्स पाएका प्रवद्र्धकहरूले अब बैंकबाट वित्तीय स्रोत जुटाई विद्युत् प्राधिकरणसित विद्युत् खरिद सम्झौता गरेपछि ती आयोजनाको निर्माण कार्य सुरु गर्नेछन् । विद्युत् खरिद सम्झौता भएको २ देखि तीन वर्षमा आयोजना सम्पन्न भई विद्युत् उत्पादन गरिसक्ने योजना प्रवद्र्धकहरूको छ ।





No comments:

Post a Comment