Saturday, July 20, 2013

सरकारद्वारा वार्तामा आउन आह्वान वैद्यलाई पत्र

काठमाडौं, ५ साउन– सरकारले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई पत्र लेखी औपचारिक रूपमा वार्तामा आउन आह्वान गरेको छ । मन्त्रिपरिषदको बैठकले नेकपा–माओवादीको वार्ता गर्ने निर्णयलाई सकारात्मक रूपमा लिंदै वार्तामा आउन आह्वान गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार सरकारले वैद्यलाई सम्बोधन गरी पत्र लेखेर वार्तामा आउन आग्रह गरेको हो ।
असन्तुष्ट दलहरूलाई संविधानसभा चुनावमा सहभागी गराउनका लागि संवाद गर्न मन्त्रिपरिषदद्वारा गठित परामर्श तथा समन्वय समितिका संयोजक एवं गृहमन्त्री माधव घिमिरेले सरकारका तर्फबाट शुक्रबार वैद्यलाई पत्र लेखेर वार्तामा आउन आह्वान गरेका हुन् ।
‘मुलुकका समस्या वार्ता, संवाद र छलफलबाट समाधान हुनेमा सरकार विश्वस्त छ’ भन्दै पत्रमा घिमिरेले सरकारका तर्फबाट नेकपा–माओवादी र ऊसको नेतृत्वमा रहेको ३३ दलको मोर्चालाई वार्ताका लागि हार्दिक आमन्त्रण गरेको छ ।
पत्रमा नेकपा–माओवादीले वार्ता गर्ने निर्णय गरेको र त्यस प्रयोजनका लागि वार्ता समिति समेत गठन गरेको विषयलाई सरकारले सकारात्मक रूपमा लिई स्वागत गरेकोसमेत उल्लेख गरिएको छ । सरकारले यसअघि नेकपा माओवादीसहितका ३३ दललाई वार्तामा आउन चारपटक सार्वजनिक आह्वान गरे पनि पहिलोपटक औपचारिक रूपमा पत्र पठाएको हो । पोखरामा भएको केन्द्रीय समितिको बैठकबाट चुनाव बहिष्कारको घोषणा गरेको नेकपा माओवादीले अघिल्लो साता चार दलीय संयन्त्र र सरकारसित बिना शर्त संवाद गर्ने निर्णय गरी वैद्यको नेतृत्वमा वार्ता समिति गठन गरेको छ ।

No comments:

Post a Comment