Monday, July 29, 2013

कांग्रेसभित्र तरुण सुरक्षा दस्ता बनाउन तीव्र माग

दस्ता बनाउने प्रस्ताव पार्टीमा राख्छु : महामन्त्री
काठमाडौं, १३ साउन– कांग्रेसमा एकीकृत माओवादीको वाईसीएल र एमालेको युवा फोर्सजस्तै आगामी संविधानसभा चुनावका लागि पार्टीभित्र सशक्त तरुण सुरक्षा दस्ता निर्माण गर्नुपर्ने आवाज तीव्र रूपमा उठेको छ । कांग्रेसमा शनिबारदेखि सुरु केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागीहरूले अघिल्लो संविधानसभा चुनावमा एमाओवादीको वाईसीएलले मतदान केन्द्रहरूमा गरेको जबर्जस्ती र बुथ कब्जाको प्रतिकार गर्न नसकेकाले पार्टीले थुप्रै निर्वाचन क्षेत्रमा हार बेहोर्नुपरेको उल्लेख गर्दै तरुण सुरक्षा दस्ता बनाउनुपर्ने आवाज उठाएका हुन् ।
प्रशिक्षणमा सहभागी ३ सय जनामध्ये ‘सांगठनिक संरचना’ विषयक छलफलका सबै आगामी संविधानसभा चुनावमा मतदान केन्द्रमा सुरक्षित तबरमा मतदाताले मत दिन पाउने र पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सुरक्षाका लागि कांग्रेसले पार्टीका युवा÷विद्यार्थीहरू रहेको तरुण सुरक्षा दस्ता केन्द्रदेखि मतदान केन्द्रसम्म निर्माण गर्न प्रस्ताव गरेका हुन् ।
दुई समूहमा विभाजित गरी छलफल गरिएकामा सांगठनिक संरचना समूहमा १ सय ५० जना सहभागी छन् । उनीहरू सबैले एक स्वरमा लिखित र मौखिक रूपमा सुरक्षा दस्ता बनाउनुपर्ने प्रस्ताव उक्त समूहको छलफलको संयोजन गरिरहेका महामन्त्री कृष्ण सिटौलासमक्ष राखेका हुन् । प्रशिक्षणमा ७५ जिल्लाका २÷३ जना र केन्द्रका गरी ३ सय जना छलफल सहभागी छन् ।
‘अघिल्लो संविधानसभा चुनावमा माओवादीको सुरक्षा दस्ता वाईसीएलले देशका थुप्रै मतदान केन्द्र कब्जा ग¥यो, हाम्रा उम्मेदवारलाई प्रचार गर्नसमेत दिएन । हाम्रा मतदातालाई हामीले सुरक्षा दिन सकेनौं । त्यही कारण कांग्रेसले कैयौं क्षेत्रमा चुनाव हार्नुप¥यो’ सहभागीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भने– ‘अहिले माओवादीसित मात्र होइन एमालेको समेत सशक्त सुरक्षा दस्ता युथ फोर्स (हाल युवा संघ) छ । कांग्रेसले पनि त्यस्तै युवा दस्ता नबनाउने हो भने आगामी चुनावमा पार्टीले ती दलसित प्रतिस्पर्धा गर्न सक्तैन । आफ्ना मतदाताको सुरक्षा पनि गर्न सक्तैन । चुनावमा जान तरुण सुरक्षा दस्ता बनाउनु अपरिहार्य छ ।’
सहभागीहरूको मौखिक र लिखित आवाज र माग सुनेपछि महामन्त्री कृष्ण सिटौलाले आगामी संविधानसभा चुनावसम्मका लागि पार्टीमा तरुण सुरक्षा दस्ता गठन गर्नुपर्ने प्रस्ताव अब बस्ने केन्द्रीय कार्यसमिति बैठकमा लाने आश्वासन दिएको जानकारी एक सहभागीले दिएका छन् ।

No comments:

Post a Comment