Wednesday, January 14, 2015

संविधानसभा सदस्यमा कुमाल र यादव मनोनीत

काठमाडौं, ३० पुस– मन्त्रिपरिषदले आदिबासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल र राजनीतिशास्त्री लालबाबु यादवलाई संविधानसभा सदस्य नियुक्त गरेको छ । प्रमुख सत्तारूढ दुई दल कांग्रेसको कोटाबाट कुमाल र एमालेको कोटाबाट यादवलाई संविधानसभाको रिक्त सदस्यमा मनोनीत गरिएको हो ।
एमाओवादी र मधेस केन्द्रित दलहरूले अब बन्ने संविधानमा आफूले अघि सारेका एजेन्डामा सहमत हुनका लागि सत्तापक्षलाई बाध्य पार्न आदिबासी जनजाति र मधेसीहरूलाई आन्दोलनमा उतारिरहेका बेला मन्त्रिपरिषदले तिनै समुदायको मन जित्न कुमाल र यादवलाई संविधानसभामा पु¥याएको स्रोतले उल्लेख गरेको छ ।
कुमाल र यादवलाई संविधानसभा सदस्य मनोनीत गरिएको निर्णय मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकको माइन्युटमा राखिएको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार उक्त दिन मन्त्रिपरिषद बैठकले मनोनयनका बारेमा निर्णय गरेको थिएन । वेस्ट मिनिस्ट्रयल सिस्टममा प्रधानमन्त्रीको आग्रहमा मुख्यसचिवले बैठकको माइन्युटमा राखिदिएपछि मन्त्रिपरिषदको निर्णय मानिन्छ ।

कुमाल कांग्रेस निकट मानिन्छन् । आदिबासी जनजाति महासंघको चुनावमा कांग्रेस र एमालेको समर्थनमा उनी अध्यक्ष चुनिएका हुन् । यादव त्रिभुवन विश्वविद्यालयमा राजनीतिक शास्त्रका सहप्राध्यापक थिए । उनी एमाले निकट र वरिष्ठ नेता माधवकुमार नेपालको गृह जिल्ला रौतहटका स्थायी बासिन्दा हुन् । यादव नेपालको लबिङमा मनोनीत भएका हुन् ।
सभाध्यक्ष सुवास नेम्वाङले कुमाल र यादवलाई मंगलबार संविधानसभा सदस्यको सपथ गराए । मन्त्रिपरिषदबाट मनोनीत हुने २६ सिटमा कांग्रेसलाई ९, एमालेलाई ८, एमाओवादीलाई ४, राप्रपा नेपाललाई १, मधेसी दलहरूलाई २ र राप्रपासहितका साना दललाई २ जना छुट्ट्याइएको थियो ।
साना दलले नाम सिफारिस नगरेकाले सत्तारूढ कांग्रेस र एमालेले आफ्नै सिफारिसमा मन्त्रिपरिषदबाट एक÷एक जना सदस्य नियुक्त गरेका हुन् । मधेसी दलहरूलाई छुट्ट्याइएको २ सिटमा मात्र मनोनयन हुन बा“की छ ।


No comments:

Post a Comment