Friday, January 9, 2015

सूचना आयोगको प्रमुख आयुक्तमा पूर्व अर्थसचिव बाँस्कोटा

मन्त्रिपरिषदद्वारा डडेल्धुराका आगलागी पीडितलाई राहत दिने निर्णय
काठमाडौं, २५ पुस– सरकारले राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रमुख आयुक्तमा पूर्व अर्थसचिव कृष्णहरि बा“स्कोटा, आयुक्तद्वयमा किरण पोखरेल र यशोदा तिम्सिनालाई नियुक्त गरेको छ । 
उनीहरूको पदावधि छ वर्षको हुनेछ । पोखरेल अन्नपूर्ण पोस्ट दैनिकका समाचार प्रमुख तथा तिम्सिना पत्रकार महासंघकी पूर्व उपाध्यक्ष एवं कान्तिपुर पब्लिकेशन्सको नेपाल साप्ताहिककी वरिष्ठ उपसम्पादक हुन् । आयोग झन्डै एक वर्षदेखि पदाधिकारीविहीन थियो । सभामुख सुवास नेम्वाङ अध्यक्ष, सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल र पत्रकार महासंघका सभापति महेन्द्र बिष्ट सदस्य रहेको सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषदले आयोगमा पदाधिकारी नियुक्त गरेको हो ।

डडेल्धुराका आगलागी पीडितलाई राहत दिइने
सरकारले डडेल्धुराको सदरमुकाममा हालैको भीषण आगलागीबाट पीडितलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले आगलागीपीडितलाई राहत र क्षतिपूर्ति रकम कति दिने भनेर अध्ययन गरी सिफारिस गर्न उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको संयोजकत्वमा अर्थमन्त्री रामशरण महत र सिंचाइमन्त्री एनपी सावद रहेको समिति गठन गरेको छ । समितिको सिफारिसका आधारमा राहत र क्षतिपूर्ति दिइनेछ ।
सरकारले निर्वाचन क्षेत्र विकासको कार्यक्रमको योजना प्रस्ताव गरी स्वीकृति गर्ने समयावधि एक महिना थप गरेको छ । निर्वाचन क्षेत्र विकासको कार्यक्रमको योजना प्रस्ताव गरी स्वीकृत गर्ने समयावधि पुस मसान्तसम्ममात्र रहेकामा माघ मसान्तसम्मका लागि बढाइएको हो ।
तीन जना नियुक्त
सरकारले गुठी संस्थानको अध्यक्षमा लक्ष्मण ज्ञवाली र प्रमुख प्रशासकमा नारायण चौधरी तथा कपास विकास समितिको अध्यक्षमा वीरबहादुर सिंहलाई नियुक्त गरेको छ ।
नेपालको राजिनामा स्वीकृत
सरकारले गृहमन्त्रीका सल्लाहकार प्रदीप नेपालले पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ ।


No comments:

Post a Comment