Monday, May 7, 2018

सिन्डिकेट अन्त्य गर्ने कागज गरेर यातायात व्यवसायी रिहा

काठमाडौं, २३ वैशाख– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष योगेन्द्र कर्माचार्यसहितका ६ जना पदाधिकारी सिन्डिकेट अन्त्य गर्ने सरकारको कदमलाई सहयोग गर्ने लिखित प्रतिबद्धता जनाएर छुटेका छन् । सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको विरोधमा हडताल गरेको अभियोगमा शनिबार पक्राउ उनीहरू जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा लिखित प्रतिबद्धतामा हस्ताक्षर गरी रिहा भएका हुन् । उनीहरूले लिखित प्रतिबद्धतामा सिण्डिकेट नगर्ने, कम्पनी दर्ता गरेर यातायात सञ्चालन गर्ने उल्लेख गरेका छन् । लिखित प्रतिबद्धतामा ‘सिन्डिकेट मान्दिन, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउ“छु र सरकारलाई सहयोग गर्छु’ व्यहोरा उल्लेख छ । 

सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा व्यवसायीले शुक्रबार देशभरि सार्वजनिक यातायात चलाएका थिएनन् । प्रहरीले सार्वजनिक गाडी नचलाउने देशभरका ९३ व्यवसायीलाई शुक्रबार र शनिबार पक्राउ गरेको थियो ।
गृहमन्त्री रामबहादुर थापाले यातायात सञ्चालन गर्छु भनेर कागज गर्न नमान्ने व्यवसायीविरूद्ध सार्वजनिक मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएका थिए । लिखित कागज गरेका देशभरका अरू यातायात व्यवसायीलाई समेत रिहा गरिएको जानकारी गृह मन्त्रालयका अधिकारीले दिए । यसैबीच यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने सामाजिक सञ्जाल फेसबुकमार्फत् व्यवसायीहरू बिना शर्त रिहा भएको दाबी गरेका छन् ।

No comments:

Post a Comment