Tuesday, May 8, 2018

अरू क्षेत्रको सिन्डिकेटसमेत अन्त्य गर : राष्ट्रियसभा

सीमाको समस्या समाधान गर्न माग 
काठमाडौं, २४ वैशाख– राष्ट्रियसभा सांसदहरूले सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउन गरेको प्रयासलाई सकारात्मक रूपमा लिंदै सामान ढुवानी, बैंकिङ, शिक्षासहितका अरू क्षेत्रमा रहेको एकाधिकारसमेत अन्त्य गर्न आग्रह गरेका छन् । 
राष्ट्रियसभाको सोमबार बसेको बैठकमा उनीहरूले यातायात क्षेत्रमा लामो समयदेखि रहेको एकाधिकार अन्त्य गरेर आमजनतालाई सहज रूपमा सेवा दिन सरकारले गरेको प्रयास सराहनीय रहेको भन्दै यातायात क्षेत्रमा रहेको लगानीको सुरक्षित व्यवस्थापन गर्नसमेत आग्रह गरे ।

सांसद रामनारायण बिडारीले एकाधिकार लादेर अकुत सम्पत्ति कमाएका व्यवसायीमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्नेमा जोड दिए । ‘सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरेको छ । यातायात समितिका नाममा अर्बौं रकम उठाइएको छ । त्यसको उचित व्यवस्थापन गर्नु पर्छ । उक्त रकम राज्यको नाममा ल्याउन तत्काल उचित कदम चालियोस्’ उनले भने । 
राष्ट्रियसभामा सांसद हरिराम चौधरीले कञ्चनपुरको पुनर्बास क्षेत्रमा भारतीय पक्षले गरेको सीमा अतिक्रमणलगायतका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा स्पष्टस“ग कुरा राखेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले विशेष पहल गरोस्’ उनले भने । अर्का सांसद इन्दु कडरियाले नेपाल–भारत सीमा क्षेत्र व्यवस्थित गर्न र सिमामा सुरक्षाको प्रभावकारी व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।
सांसद अनिता देवकोटाले पुनर्बास क्षेत्रमा भारतीय पक्षले सीमा अतिक्रमण गरेर नेपालीलाई दुःख दिएको भन्दै समस्या समाधानका लागि आग्रह गरिन् ।
सांसदहरु रामप्रित पासवान, खेमराज नेपाली, शिवबहादुर विकलगायतले लामो समयदेखि मुलुकका विभिन्न भागमा जातीय छुवाछुत र भेदभाव जारी रहेको उल्लेख गर्दै त्यस्तो कार्यमा संलग्नमाथि कानूनी कारवाही गर्न माग गरे । उनीहरूले संविधानमा नै जातीय भेदभावविरुद्ध प्रष्ट व्यवस्था भए पनि त्यसको व्यावहारिक कार्यान्वयन नभएको उल्लेख गर्दै भेदभाव गर्ने दोषीमाथि कारबाही गर्न सरकारसित माग गरे ।

No comments:

Post a Comment