Thursday, May 30, 2019

११०९ लाई संविधानसभा पदक

राष्ट्रपति र प्रधानमन्त्रीसँगै चन्द समूहका तीन नेतासमेत विभूषित हुने
काठमाडौं, १५ जेठ– संविधान निर्माणमा योगदान गरेको भन्दै संविधानसभाका दुवै कार्यकालका ११ सय ९ जना सभासदलाई सरकारले बिहीबार ‘संविधानसभा पदक’ बाट विभूषित गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतल निवासमा आयोजना हुने कार्यक्रममा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।
नेपाली सेनाले तयार पारेको पदकमा संघीय समावेशी संविधान, ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तह अंकित रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले सम्मानित गर्ने व्यक्तिहरूको सूचीको पहिलो र दोस्रो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको नाम छ । सरकारले भण्डारी र ओलीसँगै आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका तीन नेतालाई समेत सम्मानित गर्ने भएको छ ।
सम्मानित गर्न लागिएका चन्द समूहका तीन नेतामा खडगबहादुर विश्वकर्मा, सन्तोषकुमार बुढामगर र उमा भुजेल छन् । उनीहरू तीनै जना पहिलो कार्यकालमा संविधानसभा सदस्य थिए ।
भुजेललाई २०७५ भदौमा बालाजुबाट प्रहरीले पक्राउ गरेको छ । त्यतिबेला चन्द समूहलाई सरकारले प्रतिबन्ध लगाइसकेको थिएन । भुजेललाई आगजनीसम्बन्धी मुद्दामा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो ।
विभूषित हुनेहरूको सूचीको तेस्रो नम्बरमा सभामुख कृष्णबहादुर महरा, चौथोमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पा“चांैमा उपप्रधानमन्त्री उपेन्द्र यादवको नाम छ । त्यसपछि नौजना पूर्वप्रधानमन्त्रीहरूको नाम राखिएको छ । जसमा क्रमशः लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र सुशील कोइराला छन् ।
बहालवाला मन्त्री, मुख्यमन्त्री, पूर्वमन्त्री पछिपछिका नाम भने वर्णानुक्रमअनुसार राखिएको छ ।
२०६४ को संविधानसभा सदस्य गायत्री साह र विश्वनाथप्रसाद यादव भने सम्मानित हुने सूचीमा परेका छैनन् । उनीहरू कूटनीतिक राहदानीकाण्डमा परेका थिए । यादव नक्कली उपभोक्ता समिति बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका थिए ।
२०६४ को संविधानसभामा सप्तरी–२ बाट निर्वाचित जयप्रकाशप्रसाद गुप्ताको नाम पनि विभूषित हुने सूचीमा छैन । पूर्वमन्त्री गुप्ता मन्त्री भ्रष्टाचारी ठहर भई जेल परिसकेका व्यक्ति भएकाले उनलाई विभूषण प्रदान नगरिने जनाइएको छ ।
दुवै संविधानसभामा सदस्य रहेका सञ्जयकुमार साह पनि संविधानसभा पदक पाउनेको सूचीमा छैनन् । साहलाई धनुषा जिल्ला अदालतले जनकपुर बमकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएकाले उनको नाम नपरेको हो ।
साहलाई २०६९ वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा पाँच जनाको ज्यान लिएको विस्फोटको घटनामा अदालतले दोषी ठहर गरेको हो ।
अपहरण काण्डमा अदालतबाट दोषी ठहर भएका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताको नाम पनि विभूषित हुने सूचीमा छैन ।
 माओवादीका तत्कालीन नेता एवं संविधानसभा सदस्य मोहन वैद्यको नामसमेत विभूषित हुनेको सूचीमा परेको छैन । समानुपातिक सदस्य वैद्यले संविधानसभाको कार्यकाल नसकिदै पदबाट राजीनामा दिएकाले उनको नाम सूचीमा नराखिएको दाबी गृह मन्त्रालय स्रोतले गरेको छ । तर, वैद्यले आफू संविधानसभाबाट निर्मित संविधानकै विपक्षमा भएकाले पदक अस्वीकार गरेको जानकारी उनी निकट स्रोतले दिएको छ ।
सरकारले विभूषण प्रदान गर्न लागेको सूचीमा भ्रष्टाचारमा मुद्दा चलिरहेका दुई पूर्वमन्त्री टेकप्रसाद गुरुङ र बद्री न्यौपानेसमेत छन् । भृकुटीमण्डपको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले दुवै जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बैंकको लकरमा १४ थान गोली भेटिएपछि पक्राउ परेका ल्हारक्याल लामाले भने संविधानसभा पदक पाउने भएका छन् । उनलाई अख्तियारले अकुत सम्पत्ति आर्जनको मुद्दासमेत चलाएको थियो ।

No comments:

Post a Comment