Tuesday, March 3, 2020

प्रबन्ध निर्देशकसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं, १९ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अधिकारीसहितले मिलेमतोमा सरकारको अनुदानमा बिक्री वितरण गर्नुपर्ने १ सय १८ मेट्रिक टन उन्नत जातको मकैको बीउ खरिद नै नगरी नक्कली कागजपत्र बनाई बिक्री र बुझेकोसमेत देखाएर ४६ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर गरिएकामा अधिकारीका अतिरिक्त युनिक सिड कम्पनी प्रा.लि कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकाल, बिजबृद्धि कम्पनी प्रा.लि.,चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारी, राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका तत्कालीन महाशाखा प्रमुखद्वय महेशकुमार पौडेल र रेवतीरमण ओझा, कम्पनीका शाखा अधिकृत बिन्दु थापा, आर्थिक महाशाखाका वरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ र बरिष्ठ सहायक स्टोरकिपर धर्मेन्द्र कुमार झा छन् ।
यसैगरी तनहुँको भानु नगरपालिकाका इन्जिनियर सुकदेव अधिकारी र १३ ंनं.का वडा सदस्य कृष्णबहादुर अधिकारीविरुद्ध सोमबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा नं. १३ को जनसहयोगी माध्यमिक विद्यालयमा नवनिर्मित ४ कोठे भवनको निर्माण सम्पन्नको कागजात बनाई भुक्तानी दिने क्रममा अधिकारीद्वयले ठेकेदारसित ७५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।

No comments:

Post a Comment