Sunday, March 8, 2020

सरकार सफल नभए मुलुकमा प्रतिगमनको खतरा : नेकपा प्रवक्ता

काठमाडौं, २४ फागुन– सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार सफल नभए मुलुकमा निराशा, वैदेशिक हस्तक्षेप र प्रतिगमनको खतरा बढ्ने चिन्ता व्यक्त गरेका छन् । नेकपा सम्बद्ध प्रेस संगठनको उपत्यका प्रदेश कमिटीको सपथग्रहण कार्यक्रममा शनिबार बोल्दै उनले मुलुकको राजनीतिमा कुनै पनि खतरा आउन नदिन पार्टी र सम्बद्ध संगठनहरू सरकारलाई हरहालतमा सफल बनाउन लाग्नु पर्ने बताएका छन् ।
‘सरकार सफल नभए जनतामा निराशा छाउँछ, मुलुकको सामाजिक र आर्थिक रूपान्तरण हुन सक्दैन, वैदेशिक हस्तक्षेप वृद्धि र प्रतिगमनमा खतरा उत्पन्न हुन सक्छ’ उनले भने । उनले सरकारलाई असफल बनाएर पार्टीलाई विग्रहमा लैजाने वा एकतालाई खलबलाउने कुनै पनि कुरालाई छुट दिन नहुने बताए । श्रेष्ठले सरकारले सुशासन र विकासमार्फत् समाजवादको आधार तयार गर्न लागिरहेको बताए ।
उनले आफ्नो पार्टी सम्बद्ध पत्रकारहरूलाई पार्टी र सरकारलाई सफल बनाई मुलुक रूपान्तरणका लागि योगदान पु¥याउन आह्वानसमेत गरे । उनले रणनीतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार रहेको बताए ।    
उनले जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादको विचारलाई पार्टीले अहिले थाँती राखी समाजवाद उन्मुख जनताको जनवादलाई कार्यक्रमका रूपमा अघि सारिरहेको बताए । उक्त अवसरमा प्रदेश कमिटीका ६५, काठमाडौंका ४१, ललितपुरका ३७ र भक्तपुरका २९ सदस्यीय कमिटीका सदस्यलाई सपथ दिलाइएको थियो ।

No comments:

Post a Comment