Sunday, March 8, 2020

नयाँ वर्षदेखि पूर्वराजा वीरेन्द्रको घर अवलोकन गर्न पाइने

काठमाडौंं, २४ फागुन– अब सर्वसाधारणले नारायणी संग्रहालयसँगै पूर्वराजा वीरेन्द्र शाहको निजी निवाससमेत अवलोकन गर्न पाउने भएका छन् । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिले हत्या हुनुअघि तत्कालीन राजा वीरेन्द्र बस्दै आएको निजी निवाससमेत सर्वसाधारणका लागि खुला गर्न लागेको हो ।
यसअघि नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भए पनि राजा वीरेन्द्रको निजी निवास प्रवेश गर्न दिइन्थेन । समितिले आगामी वैशाख १ देखि वीरेन्द्रको निजी निवास सर्वसाधारणले अवलोकन गर्न पाउने प्रबन्ध मिलाइएको जानकारी विकास समितिले दिएको छ ।
संग्रहालयमा ९ वर्षमुनिका विद्यार्थी र ७० वर्षका ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था छ । अरूलाई भने शुल्क लाग्नेछ । विद्यार्थी, स्वदेशी, सार्कका विदेशी र त्यसबाहेकका देशका नागरिकलाई ४ समूहमा विभाजन गरी विकास समितिले शुल्क निर्धारण गरेको हो । प्रतिव्यक्ति ५० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।
नारायणहिटी दरबार परिसरभित्रै निर्माण गरिएको गणतन्त्र स्मारक आगामी चैत १ देखि सर्वसाधारणका लागि खुला हुने भएको छ । केही समय अघिमात्रै उद्घाटन भएको स्मारक चैत १ देखि खुला गर्न लागिएको जानकारी समितिले दिएको छ । समितिका अनुसार स्मारक बिहान ८ देखि अपराह्न ४ बजेसम्म खुला रहनेछ । समितिले स्मारकमा सुरुको १ महिना निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । त्यसपछि समितिले प्रवेश शुल्क तोकेर कार्यान्वयनमा ल्याइने जनाएको छ ।

No comments:

Post a Comment