Sunday, March 8, 2020

भीडभाड हुने प्रकृतिका कार्यक्रम हाललाई स्थगित गर : गृह मन्त्रालय

‘फागु (होली) मा भीडभाड र भेला हुने, लोलापानी फयाँक्ने, शरीरमा रंग, अबिर दल्ने कार्य नगर’
काठमाडौं, २४ फागुन– सरकारले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिई भीडभाड हुने प्रकृतिका कुनै पनि सभा, सम्मेलन, भेला, कार्यक्रम हाललाई स्थगित गर्न सार्वजनिक अपिल गरेको छ ।
सरकारका तर्फबाट गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले शनिबार विज्ञप्ति जारी गरी सन्निकट होली (फागु) मा समेतमा विगतमा जस्तो भीडभाड र भेला हुने, लोलापानी फयाँक्ने, शरीरमा रंग, अबीर दल्ने काम पनि जोखिमपूर्ण हुने भएकाले त्यस्ता कार्यसमेत नगर्न÷नगराउन आम जनसमुदायलाई अपिल गरेका छन् ।
‘बढी भीडभाड हुने प्रकृतिका कुनै पनि सभा, सम्मेलन, भेला र कार्यक्रम कोभिड–१९ को सम्भावित जोखिमका सन्दर्भमा हाललाई स्थगित गर्न’ गृहको विज्ञप्तिमा छ– ‘सन्निकट होलीमा विगतमा जस्तै भीडभाड र भेला जम्मा हुने, लोलापानी फ्याँक्ने, शरीरमा रंग, अबीर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्यसमेत नगर्नु÷नगराउनुहुन आम दाजुभाइ, दिदीबहिनीमा हार्दिक अनुरोध छ ।’
गृह मन्त्रालयले कोभिड–१९ फैलिन लागेको अनावश्यक भ्रममा नपरी उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनै पनि प्रकारको हतार नगर्न र कहीँकतै कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव भए÷गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्नसमेत अपिल गरेको छ ।
गृहले विज्ञप्तिमा मुलुकका सीमा नाका र अन्तर्राष्ट्रिय आवतजावत केन्द्रहरूमा प्रभावकारी स्वास्थ्य परीक्षण, रोगको निगरानी, अस्पतालको पूर्वतयारीलगायत यसको रोकथामका लागि गर्नु पर्ने विविध गतिविधि सरकारले प्राथमिकताका साथ गरिरहेकोसमेत जनाएको छ । कोभिड–१९ मुलुकमा संक्रमण फैलिन नदिन रोकथामका लागि सरकारले आवश्यक सबै प्रयास गरिररहेको उल्लेख गर्दै गृह मन्त्रालयले अनावश्यक प्रचारप्रसारको भ्रममा नपर्नसमेत आग्रह गरेको छ ।

No comments:

Post a Comment