Thursday, June 7, 2012

सामाजिक संस्थाको महँगो जग्गा व्यक्तिको नाममा दर्ता

बलराम बानियाँ/अब्दुल्लाह मियाँ
काठमाडौं, २५ जेठ- मालपोत कार्यालय डिल्लीबजारले नक्कली कागजात तयार गरी कुष्ठरोग निवारण संघको अर्बौं रुपैयाँ पर्ने महाराजगन्ज चक्रपथस्थित जग्गा व्यक्तिको नाममा दर्ता गरिदिएको छ ।
मालपोत कार्यालयका प्रमुख सुशील वैद्यले गत वैसाख ३० गते तत्कालीन राजा सुरेन्द्र शाहको पालाको अस्पष्ट र जग्गा इंगित नभएको लालमोहरको दाबी प्रस्तुत गरेका आधारमा संघको ३ रोपनी १४ आना जग्गा मोहलक्ष्मी पाण्डेका नाममा दर्ता गरिदिएको स्रोतले बतायो । लालमोहरमा 'बाँसबारीदेखि बालुवाटारसम्मको जग्गा' भनिएको छ तर त्यो जग्गा कहाँ पर्छ भन्ने उल्लेख छैन । २०२१ सालको नापीका क्रममा उक्त जग्गाको फिल्डबुकमा पाण्डेको नभई मारबाडी सेवा समितिको नाम उल्लेख छ । फिल्डबुकको प्रमाणलाई तत्कालीन राजाको लालमोहरले काट्न नमिल्ने र लालमोहरसमेत नक्कली हुन सक्ने आशंका छानबिनमा संलग्न अधिकारीको छ ।
मालपोत कार्यालय प्रमुख वैद्यले भूमाफियासित मिलेर जग्गा दर्ता गर्नुअघि पुर् याउनुपर्ने कुनै प्रकि्रया नगरी संघको उक्त जग्गा कथित जग्गाधनी खडा गरेर व्यक्तिको नाममा दर्ता गरिदिएको खुलासा भएको छ । उक्त प्रकरणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन गरी वैद्यलाई कारबाहीका लागि सिफारिस गर्ने तयारी थालेको छ ।
मारवाडी सेवा समितिले महाराजगन्जस्थित १८ रोपनी जग्गा २०३५ भदौ ४ मा कुष्ठरोग निवारण संघलाई दिएको हो । संघले उक्त जग्गा मारबाडी सेवा समितिबाट आफ्नो नाममा नामसारी गर्ने प्रकि्रया सुरु गरेको थियो । तर मालपोत कार्यालय डिल्लीबजारका अधिकारीहरुले संघको निवेदन बेवास्ता गरी भूमाफियासित मिलेर उक्त जग्गा व्यक्तिको नाममा गरिदिएका हुन् ।
मालपोत कार्यालयले सामाजिक संस्थाको नाममा रहेको उक्त जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा गरिदिएको उजुरी परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन सुरु गरेको हो । संघले त्यसबारे छानबिन गरी कारबाही माग राख्दै हेल्लो सरकारमा उजुरी गरेको थियो ।
छानबिनबाट उक्त जग्गा दाबी गर्नेको नाममा दर्ता गर्नुअघि त्यसमा अरु कसैको हकदाबी छ कि भनी सार्वजनिक सूचना प्रकाशन गर्ने र स्थानीयवासी तथा भोगचलन गर्दै आएका व्यक्ति या संस्थाका प्रतिनिधिलाई समेत राखी सार्वजनिक रुपमा सर्जमिन गर्नुपर्नेजस्ता कुनै प्रकि्रया पूरा नगरी मालपोत कार्यालयले व्यक्तिको नाममा दर्ता गरिदिएको संघका कार्यकारी प्रमुख विदुर बस्नेतले बताए ।
मालपोत कार्यालयले कुष्ठरोग निवारण संघसँगै रहेको अतिथि पार्टी प्यालेसमा बसेर गोप्य रुपमा नक्कली व्यक्ति बोलाई सर्जमिन गराएको बस्नेतले बताए । पार्टी प्यालेस साचालकले छानबिनकर्ता प्रधानमन्त्री कार्यालयका अधिकारीलाई केही मान्छे आफूकहाँ १८ हजार रुपैयाँको मदिरा लगायतका खानेकुरा खाई सर्जमिन गराएको र त्यसमा स्थानीयवासी र संघका प्रतिनिधि कोही पनि नरहेको जानकारी गराएका छन् । ुजग्गाको सर्जमिन गोप्य ढंगले गरियो हामीले भोगचलन गर्दै आएको जग्गाको सर्जमिन गर्दा हामीलाई थाहै दिइएनु संघका कार्यकारी प्रमुख बस्नेतले भने । जग्गावाला मारवाडी सेवा समितिलाई समेत कुनै जानकारी दिइएन ।
छानबिनका क्रममा नगरपालिका क्षेत्रको जग्गाको हकदाबीसम्बन्धी सर्जमिन गर्दा मालपोत अधिकृत आफैं जानुपर्ने कानुनी व्यवस्था भए पनि त्यसो नगरेको देखिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । भूमाफिया र वैद्यको गैरकानुनी काममा भूमिसुधार विभागको समेत मिलेमतो रहेको आशंका प्रधानमन्त्री कार्यालयको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले उक्त जग्गा कसरी व्यक्तिको नाममा नामसारी हुन पुग्यो भनेर भूमिसुधार मन्त्रालयमार्फत विभागसित जानकारी माग्दा सम्पूर्ण कागजपत्र अदालतमा पठाइएकाले आफूलाई केही थाहा नभएको लिखित जवाफ पठाएको छ ।
कागजात लुकाउन मालपोत कार्यालय र कथित जग्गाधनीले आफैं नक्कली मुद्दा दर्ता गराएको स्रोतले बतायो । कथित जग्गाधनी मोहलक्ष्मी पाण्डेकै आफन्तले उक्त जग्गामा आफ्नोसमेत हक लाग्ने उल्लेख गर्दै पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।
मालपोत कार्यालय र कथित जग्गाधनीले आफ्नो कर्तुत सार्वजनिक नहोस् सम्पूर्ण सक्कली कागजात अदालतमा पठाएका छन् । 'सार्वजनिक संस्थाको जग्गा व्यक्तिको नाममा गर्दा मालपोत अधिकृत सुशील वैद्यको बदनियत मात्र देखिन्न कि पूर्णरुपमा दोषीसमेत देखिएका छन्' प्रधानमन्त्री कार्यालयका अधिकारीले भने ।
छानबिनमा सहभागी अधिकारीले नक्कली कागजात खडा गरी सार्वजनिक संस्थाको जग्गा व्यक्तिको नाममा गर्ने मालपोत अधिकृत वैद्यलाई कारबाहीको सिफारिस गरेका छन् । छानबिनपछि सरकारका तर्फबाट वैद्यलाई तत्काल निलम्बन गर्न र थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन सिफारिस गरिएको जनाए ।
स्रोतअनुसार प्रधानमन्त्री कार्यालयले उक्त सिफारिसका आधारमा वैद्यलाई तत्काल निलम्बन गरी कानुनबमोजिम थप कारबाहीका लागि अख्तियारमा पठाउने तयारी गरेको छ । मालपोत प्रमुख वैद्यले भने उक्त जग्गा पाण्डेकै भएकाले उनको नाममा दर्ता गरिएको दाबी गरे । 'उक्त जग्गा मारवाडी समितिको होइन समिति मोही मात्रै हो त्यसैलाई मोही कायम गरी पाण्डेको नाममा दर्ता गरिएको हो' उनले भने । उक्त जग्गामा अहिले संघको केन्द्रीय कार्यालयका अतिरिक्त अतिथि पार्टी प्यालेस साचालन भएको छ । संघले टहरा बनाएर कुष्ठरोगीका बालबच्चाको उपचार र पठनपाठन गराउने गरेको बस्नेतले बताए ।

No comments:

Post a Comment