Monday, June 11, 2012

संविधानसभा भवन थप छ महिनालाई भाडामा लिने तयारी

संविधानसभा विघटनले कर्मचारीलाई पिरलो
काठमाडौं, २९ जेठ- संसद सचिवालयले संविधानसभा÷संसद नभए पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र थप छ महिनाका लागि भाडामा लिने भएको छ । सरकारले आगामी मंसिर ७ मा नयाँ संविधानसभाको चुनाव गराउने घोषणा गरेकाले सचिवालयले उक्त भवन थप छ महिनाका लागि भाडामा लिने गृहकार्य सुरु गरेको हो । संविधानसभाको म्याद सकिएको जेठ १४ पछिको छ महिनाका लागि सचिवालयले भवन भाडामा लिन लागेको हो ।
सचिवालयले संविधानसभा रहेसम्मका लागि उक्त भवन भाडामा लिएको थियो । संविधानसभा विघटन भएपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसितको भाडासम्बन्धी करार स्वतः समाप्त भएको थियो ।
'सरकारले संविधानसभाको चुनाव घोषणा गरेको छ । नयाँ संविधानसभा आएपछि बैठक बस्ने भवन चाहिने भएकाले सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन थप छ महिनाका लागि भाडामा लिने गृहकार्य सुरु गरेको हो' सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने- 'केही दिनभित्रै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसित सचिवालयले भवन भाडामा लिनेसम्बन्धी करार गर्दैछ ।' सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन वर्षको ६ करोड ८१ लाख ६१ हजार ९ सय ५२ रुपैयाँमा भाडामा िलंदै आएको थियो । यसपटक पनि त्यही दरमा सचिवालयले छ महिनाका लागि भाडामा लिन लागेको हो ।
सचिवालयका कर्मचारीको तलबभत्ता घट्यो
संविधानसभा विघटनले सबभन्दा बढी पिरलो संसद सचिवालयका कर्मचारीहरुलाई भएको छ । संविधानसभा विघटनसँगै सचिवालयका कर्मचारीहरुले खाइपाई आएको ३५ प्रतिशत भत्ता, खाजा र खाना खर्च काटिएका कारण उनीहरुलाई पिरलो भएको हो ।
तत्कालीन सभामुखको अध्यक्षतामा रहेको संसद साचालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार सचिवालयका कर्मचारीले संविधानसभा अवधिभर मासिक तलबका अतिरिक्त ३५ प्रतिशत भत्ता, हाजिर भएको दिन ५० रुपैयाँ खाजा खर्च र बिहान या बेलुका काम गर्नुपर्दा ७० रुपैयाँ खाना खर्च पाउँदै आएका थिए । त्यसअतिरिक्त उनीहरुले कार्यालय समयभन्दा बढी काम गरेका बेला ओभरटाइमसमेत पाउँदै आएका थिए । तर विघटनसँगै कामै नभएकाले सचिवालयका कर्मचारीहरुको ओभरटाइमको अवसरसमेत गुमेको छ ।
'संविधानसभा विघटन भएपछि सविचालयका कर्मचारीहरुको ३५ प्रतिशत भत्ता, खाजा र खाना खर्च र ओभरटाइम सबै काटिएको छ' सचिवालयका एक अधिकारीले भने । सचिवालयमा २ सय ५० जना कर्मचारी छन् । त्यस अतिरिक्त संविधानसभा'संसद बैठकका लागि जनशक्ति अपुग भएकाले सचिवालयले विभिन्न कार्यालयबाट ६० जना कर्मचारी काजमा लिएको थियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिमा कार्यरत कर्मचारीले समेत संविधानसभाकै काम गर्नुपरेकाले सचिवालयले उनीहरुलाई समेत ३५ प्रतिशत भत्तालगायतका सुविधा िदंदै आएको थियो ।
सचिवालयका कर्मचारीका लागि मासिक तलबका लागि ५४ लाख ४१ हजार ६ सय ७६ रुपैयाँ खर्च हुन्थ्यो भने ३५ प्रतिशत भत्ता खाजा खाना खर्च ओभरटाइमका लागिमात्र मासिक २४ लाख ६९ हजार खर्च हुन्थ्यो । संविधानसभा नभएकाले सचिवालयका लागि मासिक २४ लाख ६९ हजार रुपैयाँ खर्च घटेको छ । संविधानसभा विघटनपछि संसद सचिवालय सुनसानमात्र भएको छैन कर्मचारीहरु कामविहीन भएका छन् ।

No comments:

Post a Comment