Thursday, June 7, 2012

देउवा पौडेल र नेम्वाङलाई आजीवन गाडी र सचिवालय सुविधा प्रदान

देउवालाई ल्यान्डक्रुजर प्राडो, पौडेल र नेम्वाङलाई स्कर्पियो
काठमाडौं, २५ जेठ- सरकारले थप एक पूर्वप्रधानमन्त्रीसहित दुई पूर्वसभामुखलाई आजीवन गाडी र सचिवालय सुविधा प्रदान गरेको छ । पूर्वविशिष्ठ पदाधिकारीको सुविधासम्बन्धी अध्यादेश २०६९ अनुसार सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई महँगो र विलाशी ल्यान्डक्रुजर प्राडो गाडी सुविधा उपलब्ध गराएको जानकारी गृह मन्त्रालय स्रोतले दिएको छ ।
पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्दलाई ल्यान्डक्रुजर प्राडो गाडी र आजीवन सचिवालय सुविधा दिएको दुई सातापछि अर्का पूर्वप्रधानमन्त्री देउवालाई समेत त्यस्तै विलाशी गाडी र सचिवालय सुविधा प्रदान गरिएको हो । उनीहरुलाई चालक इन्धन मोबिल र मर्मत खर्चसहित गाडी सुविधा प्रदान गरिएको हो । सरकारले पूर्वप्रधानमन्त्रीहरुलाई मासिक १ सय ५० लिटर पेट्रोल सुविधा दिने गरेको छ ।
पूर्वप्रधानमन्त्रीहरु दाहाल नेपाल खनाल र देउवालाई चमेलिया जलविद्युत् आयोजनाको गाडी प्रदान गरिएको हो । सरकारले ती गाडी आयोजनाबाट खरिद गरिसकेको छ । चन्दलाई दिइएको गाडी चमेलियाको नभए पनि त्यही स्तरको महँगो र विलाशी छ ।
२०४६ सालपछिका पूर्वप्रधानमन्त्रीहरुलाई आजीवन शाखा अधिकृत र दुई कार्यालय सहयोगीसहितको सचिवालय सुविधासमेत प्रदान गरिएको छ । सचिवालयमा रहने कर्मचारीलाई सरकारले तलबसुविधा प्रदान गर्नेछ । अध्यादेशमा बहुदलपछिका सरकार प्रमुख सबैलाई गाडी सुविधा दिने व्यवस्था गरिए पनि पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई मात्र गाडी सुविधा दिन बाँकी छ । गृह मन्त्रालयले थापालाई पनि एक÷दुई दिनभित्रै गाडी सुविधा उपलब्ध गराउने जानकारी स्रोतले दिए ।
गृह मन्त्रालयले तयार गरेको मापदण्डमा पूर्वप्रधानमन्त्रीहरुलाई ४० लाख रुपैयाँसम्मको गाडी सुविधा दिने प्रस्ताव गरिए पनि पूर्वप्रधानमन्त्रीहरुलाई डेढ करोड पर्ने गाडी प्रदान गरिएको छ । गृह मन्त्रालयद्वारा प्रस्तावित मापदण्डमा पूर्वराष्ट्रपतिलाई ५०, पूर्वउपराष्ट्रपतिलाई ४५, पूर्वप्रधानमन्त्रीहरुलाई ४०, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई ३५, पूर्वगृहमन्त्रीलाई ३० लाख रुपैयाँसम्मका मध्यमस्तरका जिप या कार उपलब्ध गराउने प्रस्ताव गरिए पनि चार पूर्वप्रधानमन्त्रीलाई डेढ करोड रुपैयाँभन्दा बढी मूल्यका विलाशी ल्यान्डक्रुजर प्राडो गाडी सुविधा दिइएको छ ।
यसैगरी सरकारको निर्णयअनुसार संसद सचिवालयले चार पूर्वसभामुखमध्ये दुई जना रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई समेत आजीवन गाडी र सचिवालय सुविधा प्रदान गरेको छ । दुवै जनालाई स्कर्पियो गाडी सुविधा दिइएको जानकारी सचिवालय स्रोतले दिएको छ । पौडेललाई उनी विपक्षी दलको नेताको हैसियतमा चढ्दै आएको सचिवालयको स्कर्पियो गाडी नै दिइएको छ भने नेम्वाङलाई संवैधानिक समितिका निलाम्बर आचार्यले फिर्ता गरेको स्कर्पियो गाडी दिइएको छ ।
स्रोतका अनुसार अर्का पूर्वसभामुख तारानाथ रानाभाटलाई समेत एक/दुई दिनमै गाडी र सचिवालय सुविधा प्रदान गरिनेछ । पूर्वसभामुखद्वय ढुंगाना र रानाभाटले समेत सचिवालयसमक्ष अध्यादेशअनुसार आफूलाई गाडी सुविधा दिन माग गरेको जानकारी स्रोतले दिएको छ । पूर्वसभामुखलाई १५० पेट्रोल र आवश्यकताअनुसार मोबिल तथा मर्मत खर्च दिइने जानकारी स्रोतले दिएको छ ।
पूर्वसभामुखद्वय पौडेल र नेम्वाङलाई आजीवन नायव सुब्बा र दुई कार्यालय सहयोगी रहेको सचिवालयसमेत उपलब्ध गराएको छ । बाँकी दुई पूर्व सभामुखलाई समेत सचिवालय सुविधा प्रदान गरिनेछ । गाडीसम्बन्धी मापदण्डमा पूर्वसभामुखलाई ३५ लाख रुपैयाँसम्मको गाडी दिने प्रस्ताव गरिए पनि ४० लाख रुपैयाँभन्दा बढी पर्ने स्कर्पियो गाडी सुविधा दिइएको छ ।


No comments:

Post a Comment