Sunday, June 24, 2012

करोडौंको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोत प्रमुखसहितलाई कारबाही गर्न निर्देशन

प्रधानमन्त्री कार्यालयद्वारा मालपोत अधिकृतसहितलाई भ्रष्टाचारको मुद्दा चलाउन आग्रह
काठमाडौं, १० असार- प्रधानमन्त्री कार्यालयले नक्कली कागजात तयार गरी कुष्ठरोग निवारण संघले उपयोग गर्दै आएको अर्बौं रुपैयाँ पर्ने राजधानीको महाराजगन्ज चक्रपथस्थित जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा संलग्न मालपोत कार्यालय डिल्लीबजारका प्रमुख सुशील वैद्यसहितका सम्पूर्ण कर्मचारीलाई विभागीय कारबाही गर्न भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको छ ।
कुष्ठरोग निवारण संघले उपयोग गर्दै आएको मारबाडी सेवा समितिको नाममा रहेको जग्ग्ाा अनधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गरेको उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले उक्त प्रकरणमा छानबिन गरी दोषी देखिएका वैद्यसहित दर्ता प्रकि्रयामा संलग्न सम्पूर्ण कर्मचारीलाई विभागीय सजाय गर्न भूमिसुधार मन्त्रालयलाई लिखित निर्देशन दिएको हो ।
मारबाडी सेवा समितिले उक्त जग्गा कुष्ठरोग निवारण संघलाई दिएको हो । संघको नाममा नामसारी गर्नमात्र बाँकी थियो प्रधानमन्त्रीस्तरीय निर्णयबाट वैद्यसहितलाई कारबाही गर्न भूमिसुधार मन्त्रालयलाई पत्र पठाई निर्देशन दिइएको जानकारी प्रधानमन्त्रीका एक अधिकारीले दिए । अनधिकृत रुपमा व्यक्तिको नाममा गरिएको जग्गाको दर्ता बदर गरी संघलाई नै दिनसमेत प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।
विभागीय कारबाहीमा वैद्यसहित दर्ता प्रकि्रयामा संलग्न दोषी कर्मचारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी अवकास दिनेसम्मको कारबाही हुन सक्नेछ । निजामती ऐनको परिच्छेद ६ मा विभागीय सजायमा दोषी कर्मचारीलाई बढीमा भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने या भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने तथा दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का, २ देखि ५ वर्षसम्म तलब वृद्धि रोक्का, दुई वर्षसम्म बढुवा रोक्का, दुई तलब वृद्धि रोक्का र नसहित दिने कारबाही गर्न सक्ने व्यवस्था गरिएको छ । वैद्यसहितका कर्मचारीले हदैसम्म अनियमितता गरेकाले भूमिसुधार मन्त्रालयले उनीहरुमाथि हदैसम्मको कारबाही गर्ने जानकारी स्रोतले दिए ।
प्रधानमन्त्री कार्यालयले नक्कली काजगाज तयार गरी सामाजिक संस्थाको जग्गा मोहलक्ष्मी पाण्डेका नाममा दर्ता गरी अख्तियार दुरुपयोग गरेका वैद्यसहितका कर्मचारीमाथि छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचारको अभियोगमा कारबाही अघि बढाउनसमेत लिखित आग्रह गरेको छ । प्रधानमन्त्री कार्यालयले किर्ते गरी सामाजिक संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको प्रमाणसमेत अख्यितयारलाई पठाएको छ । 'वैद्यसहितका दोषी कर्मचारीमाथि अनुसन्धान गरी भ्रष्टाचारको अभियोगमा मुद्दा चलाउन अख्तियारलाई आग्रह गरिएको छ' प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने । यो प्रकरणमा अख्तियारले वैद्यसहितका कर्मचारीलाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलाउन सक्ने प्रशस्त आधार रहेको स्रोतले दिए ।
मालपोत कार्यालयका प्रमुख वैद्यले तत्कालीन राजा सुरेन्द्र शाहको पालाको अस्पष्ट र जग्गा इंगित नभएको लालमोहरको दाबी प्रस्तुत गरेका आधारमा संघको ३ रोपनी १४ आना जग्गा पाण्डेको नाममा दर्ता गरिदिएका थिए । लालमोहरमा 'पाण्डेको बाँसबारीदेखि बालुवाटारसम्मको जग्गा' भनिएको छ तर त्यो जग्गा कहाँ पर्छ भन्ने उल्लेख छैन । तर २०२१ सालको नापीका क्रममा कुष्ठरोग निवारण संघले उपयोग गर्दै आएको उक्त जग्गाको फिल्डबुकमा जग्गा धनीको नाम मारबाही सेवा समिति छ फिल्डबुकमा पाण्डेको नाम उल्लेख छैन ।
मालपोत कार्यालय प्रमुख वैद्यले भूमाफियासित मिलेर जग्गा दर्ता गर्नुअघि पुर् याउनुपर्ने कुनै प्रकि्रया नगरी संघको उक्त जग्गा कथित जग्गाधनी खडा गरेर व्यक्तिको नाममा दर्ता गरिदिएका हुन् । मारवाडी सेवा समितिले महाराजगन्जस्थित १८ रोपनी जग्गा २०३५ भदौ ४ मा कुष्ठरोग निवारण संघलाई दिएको हो । संघले उक्त जग्गा मारबाडी सेवा समितिबाट आफ्नो नाममा नामसारी गर्ने प्रकि्रया सुरु गरेको थियो । तर मालपोत कार्यालय डिल्लीबजारका अधिकारीहरुले संघको निवेदनको बेवास्ता गरी भूमाफियासित मिलेर उक्त जग्गामध्ये ३ रोपनी १४ आना गत वैसाख ३० मा व्यक्तिको नाममा दर्ता गरिदिएका हुन् ।
मालपोत कार्यालयले सामाजिक संस्थाको नाममा रहेको उक्त जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा गरिदिएको उजुरी परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन सुरु गरेको थियो । संघले त्यसबारे छानबिन गरी कारबाही माग राख्दै हेल्लो सरकारमा उजुरी गरेपछि प्रधानमन्त्री कार्यालयले अनुसन्धान थालेको थियो ।
छानबिनबाट उक्त जग्गा दाबी गर्नेको नाममा दर्ता गर्नुअघि त्यसमा अरु कसैको हकदाबी छ कि भनी सार्वजनिक सूचना प्रकाशन गर्ने र स्थानीयवासी तथा भोगचलन गर्दै आएका व्यक्ति या संस्थाका प्रतिनिधिलाई समेत राखी सार्वजनिक रुपमा सर्जमिन गर्नुपर्नेजस्ता कुनै पनि प्रकि्रया पूरा नगरी मालपोत कार्यालयले व्यक्तिको नाममा दर्ता गरिदिएका थिए ।
मालपोत कार्यालयले कुष्ठरोग निवारण संघसँगै रहेको अतिथि पार्टी प्यालेसमा बसेर गोप्य रुपमा नक्कली व्यक्ति बोलाई सर्जमिन गराएको कुष्ठरोग निवारण संघका कार्यकारी प्रमुख विदुर बस्नेतले बताए । पार्टी प्यालेस साचालकले प्रधानमन्त्री कार्यालयका छानबिनकर्ताअधिकारीलाई केही मान्छे आफूकहाँ १८ हजार रुपैयाँको मदिरालगायतका खानेकुरा खाई सर्जमिन गराएको र त्यसमा स्थानीयबासी र संघका प्रतिनिधि कोही पनि नरहेको जानकारी गराएका थिए । ुजग्गाको सर्जमिन गोप्य ढंगले गरियो हामीले भोगचलन गर्दै आएको जग्गाको सर्जमिन गर्दा हामीलाई थाहै दिइएनु संघका कार्यकारी प्रमुख बस्नेतले भने । जग्गावाला मारवाडी सेवा समितिलाई समेत कुनै जानकारी दिइएन ।
छानबिनका क्रममा नगरपालिका क्षेत्रको जग्गाको हकदाबीसम्बन्धी सर्जमिन गर्दा मालपोत अधिकृत आफैं जानुपर्ने कानुनी व्यवस्था भए पनि त्यसो नगरेको देखिएको प्रधानमन्त्री कार्यालयको एक अधिकारीले बताए । भूमाफिया र वैद्यको गैरकानुनी काममा भूमिसुधार विभागको समेत मिलेमतो रहेको आशंका प्रधानमन्त्री कार्यालयको छ ।
प्रधानमन्त्री कार्यालयले उक्त जग्गा कसरी व्यक्तिको नाममा नामसारी हुन पुग्यो भनेर भूमिसुधार मन्त्रालयमार्फत विभागसित जानकारी माग्दा सम्पूर्ण कागजपत्र अदालतमा पठाइएकाले आफूलाई केही थाहा नभएको लिखित जवाफ पठाएको छ । कागजात लुकाउन मालपोत कार्यालय र कथित जग्गाधनीले आफैं नक्कली मुद्दा दर्ता गराएको स्रोतले बतायो । कथित जग्गाधनी पाण्डेकै आफन्तले उक्त जग्गामा आफ्नोसमेत हक लाग्ने उल्लेख गर्दै पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।
मालपोत कार्यालय र कथित जग्गाधनीले आफ्नो कर्तुत सार्वजनिक नहोस् सम्पूर्ण सक्कली कागजात अदालतमा पठाएका छन् । ुसार्वजनिक संस्थाको जग्गा व्यक्तिको नाममा गर्दा मालपोत अधिकृत वैद्यलगायतको कर्मचारीको बदनियत मात्र देखिन्न कि पूर्णरुपमा दोषीसमेत देखिएका छन्ु प्रधानमन्त्री कार्यालयका अधिकारीले भने ।
छानबिनमा सहभागी अधिकारीले नक्कली कागजात खडा गरी सार्वजनिक संस्थाको जग्गा व्यक्तिको नाममा गर्ने मालपोत अधिकृत वैद्यलाई कारबाहीको सिफारिस गरेका छन् । छानबिनपछि सरकारका तर्फबाट वैद्यलाई तत्काल निलम्बन गर्न र थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन सिफारिस गरिएको जनाए ।
मालपोत प्रमुख वैद्यले भने उक्त जग्गा पाण्डेकै भएकाले उनको नाममा दर्ता गरिएको दाबी गरे । ुउक्त जग्गा मारवाडी समितिको होइन समिति मोही मात्रै हो त्यसैलाई मोही कायम गरी पाण्डेको नाममा दर्ता गरिएको होु वैद्यको दाबी थियॊ । उक्त जग्गामा अहिले संघको केन्द्रीय कार्यालयका अतिरिक्त अतिथि पार्टी प्यालेस साचालन भएको छ । संघले टहरा बनाएर कुष्ठरोगीका बालबच्चाको उपचार र पठनपाठन गराउने गरेको बस्नेतले बताए ।

No comments:

Post a Comment