Tuesday, June 26, 2012

भूमाफिया र मालपोतका कर्मचारीद्वारा अनधिकृत रुपमा व्यक्तिको नाममा गरिएको जग्गा अर्कैलाई बिक्री

काठमाडौं, १२ असार- भूमाफिया र मालपोत कार्यालय डिल्लीबजारका प्रमुख सुशील वैद्यसहितका कर्मचारीको मिलोमतोमा नक्कली कागजात खडा गरी व्यक्तिको नाममा दर्ता गरिएको करौडौं पर्ने राजधानीको महाराजगन्ज चक्रपथस्थित जग्गा गुपचूप ढंगले पुनः अर्को व्यक्तिलाई बिक्री गरिएको खुलासा भएको छ ।
अनधिकृत रुपमा गत चैत ३० मा मोहलक्ष्मी पाण्डेको नाममा दर्ता गरिएको कुष्ठरोग निवारण संघले उपयोग गर्दै आएको ३ रोपनी १४ आना १ हजार ९ सय ७१.३६ वर्ग मिटर जग्गामध्ये ८ सय २६.५४ वर्ग मिटर १ रोपनी १० आना जग्गा ४ करोड २५ लाख ३४ हजार ३ सय ४१ रुपैयाँ मूल्यमा वैसाख २५ मा ललितपुर निवासी प्रविरसमसेर जबरालाई बिक्री गरिएको छ । उक्त जग्गामा रहेको घरको मूल्य भने ९ लाख ३४ हजार ३ सय ४१ रुपैयाँमा कायम कायम गरिएको छ ।
जबरालाई बेचिएको जग्गामा कुष्ठ रोग निवारण संघले टहरा निर्माण गरी लामो समयदेखि कुष्ठरोगीका १ सय ६० जना छोराछोरीलाई पढाउँदै आएको छ । टहरासँगै आठवटा पसल कबल छन् त्यसबाट मासिक ८५ हजार रुपैया भाडा आउने गरेको र त्यसले रोगीका छोराछोरीलाई पढाउन केही राहत पुग्ने गरेको संघका कार्यकारी प्रमुख विदुर बस्नेतले जानकारी दिए । त्यही टहरा र पसल कबललाई पाण्डेले जबरालाई बेच्दा ९ लाख ३४ हजार मूल्य कायम राखिएको छ ।
काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितले टहरा बनाएको भनेर भत्काउन खोजेको तर सर्वोच्च अदालतले ती टहरा संघको भएकाले नभत्काउन आदेश दिएपछि भत्किनबाट बचेकोसमेत बस्नेतले जानकारी दिए । बस्नेतले मारबाडी सेवा समितिले संघलाई दिएको जग्गा भूमाफिया र भ्रष्ट कर्मचारीको मिलोमतोमा नक्कली कागजातका आधारमा व्यक्तिको नाममा गरिएको र फेरि अर्को व्यक्तिलाई बिक्री गरिएको बताए ।
कुष्ठरोग निवारण संघले उपयोग गर्दै आएको तर मारबाडी सेवा समितिको नाममा रहेको उक्त जग्गा अनधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गराएको प्रकरणमा प्रधानमन्त्री कार्यालयले छानबिन गरिरहेका बेला मालपोत कार्यालय डिल्लीबजारका प्रमुख वैद्यसहितका कर्मचारी र पाण्डेको मिलोमतोमा उक्त जग्गा बिक्री गरिएको स्रोतले उल्लेख गरेको छ । मालपोत कार्यालय डिल्लीबजारले पाण्डेले राजिनामा गरी जबरालाई बेचेको कागजातको प्रतिलिपिसमेत कान्तिपुरलाई प्राप्त भएको छ ।
प्रधानमन्त्रीस्तरीय निर्णयबाट सामाजिक संस्थाको जग्गा अनधिकृत रुपमा व्यक्तिको नाममा गरिएकामा कारबाहीका लागि मालपोत कार्यालय प्रमुख वैद्यसहितलाई कारबाही गर्न भूमिसुधार मन्त्रालयलाई निर्देशन र अख्तियारलाई आग्रह गर्नुभन्दा पहिल्यै उक्त जग्गा अर्को व्यक्तिलाई बिक्री गरेको खुलासा भएपछि उक्त प्रकरण झन् रहस्यमय हुन पुगेको छ ।
मारबाडी सेवा समितिले महाराजगन्जस्थित १८ रोपनी जग्गा २०३५ भदौ ४ मा कुष्ठरोग निवारण संघलाई दिएको हो । संघले उक्त जग्गा मारबाडी सेवा समितिबाट आफ्नो नाममा नामसारी गर्ने प्रकि्रया सुरु गरेको थियो । तर मालपोत कार्यालय डिल्लीबजारका अधिकारीहरुले संघको निवेदनको बेवास्ता गरी भूमाफियासित मिलेर उक्त जग्गामध्ये ३ रोपनी १४ आना गत चैत ३० मा व्यक्तिको नाममा दर्ता गरिदिएको हो । उक्त जग्गा पुनः वैसाख २५ मा अर्कै व्यक्तिलाई बिक्री गरिएको हो ।
मालपोत कार्यालयका प्रमुख वैद्यले तत्कालीन राजा सुरेन्द्र शाहको पालाको अस्पष्ट र जग्गा इंगित नभएको लालमोहरको दाबी प्रस्तुत गरेका आधारमा संघको ३ रोपनी १४ आना जग्गा पाण्डेको नाममा दर्ता गरिदिएका थिए । लालमोहरमा 'पाण्डेको बाँसबारीदेखि बालुवाटारसम्मको जग्गा' भनिएको छ तर त्यो जग्गा कहाँ पर्छ भन्ने उल्लेख छैन । तर २०२१ सालको नापीका क्रममा कुष्ठरोग निवारण संघले उपयोग गर्दै आएको उक्त जग्गाको फिल्डबुकमा जग्गा धनीको नाम मारबाही सेवा समिति छ फिल्डबुकमा पाण्डेको नाम उल्लेख छैन ।
मारबाडी सेवा समितिले दिएको जग्गा संघको नाममा नामसारी गर्नमात्र बाूकी थियो । सामाजिक संस्थाको जग्गा अनधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गराउने कार्यमा संलग्न मालपोत कार्यालय डिल्लीबजारका प्रमुख वैद्यसहितका कर्मचारीलाई विभागीय कारबाही गर्न प्रधानमन्त्रीले एक साताअघि भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएका छन् । मारबाडी सेवा समितिको नाममा रहेको जग्ग्ाा अनधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गरेको उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले उक्त प्रकरणमा छानबिन गरी दोषी देखिएका वैद्यसहित दर्ता प्रकि्रयामा संलग्न सम्पूर्ण कर्मचारीलाई विभागीय सजाय गर्न भूमिसुधार मन्त्रालयलाई लिखित निर्देशन दिएको हो ।
प्रधानमन्त्री कार्यालयले नक्कली काजगाज तयार गरी सामाजिक संस्थाको जग्गा पाण्डेका नाममा दर्ता गरी अख्तियार दुरुपयोग गरेका वैद्यसहितका कर्मचारीमाथि छानबिन गरी भ्रष्टाचारको अभियोगमा कारबाही अघि बढाउनसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ लिखित आग्रह गरेको छ । प्रधानमन्त्री कार्यालयले किर्ते गरी सामाजिक संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको प्रमाणसमेत अख्तियारलाई पठाएको छ ।
मालपोत कार्यालय प्रमुख वैद्यले भूमाफियासित मिलेर जग्गा दर्ता गर्नुअघि पुर् याउनुपर्ने कुनै प्रकि्रया पूरा नगरी संघको उक्त जग्गा कथित जग्गाधनी खडा गरेर व्यक्तिको नाममा दर्ता गरिदिएका हुन् । मालपोत कार्यालयले सामाजिक संस्थाको नाममा रहेको उक्त जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा गरिदिएपछि संघले त्यसबारे छानबिन गरी कारबाही माग राख्दै हेल्लो सरकारमा उजुरी गरेपछि प्रधानमन्त्री कार्यालयले अनुसन्धान थालेको थियो ।
छानबिनबाट उक्त जग्गा दाबी गर्नेको नाममा दर्ता गर्नुअघि त्यसमा अरु कसैको हकदाबी छ कि भनी सार्वजनिक सूचना प्रकाशन गर्ने र स्थानीयवासी तथा भोगचलन गर्दै आएका व्यक्ति या संस्थाका प्रतिनिधिलाई समेत राखी सार्वजनिक रुपमा सर्जमिन गर्नुपर्नेजस्ता कुनै पनि प्रकि्रया पूरा नगरी मालपोत कार्यालयले व्यक्तिको नाममा दर्ता गरिदिएको थियो ।
मालपोत कार्यालयले कुष्ठरोग निवारण संघसँगै रहेको अतिथि पार्टी प्यालेसमा बसेर गोप्य रुपमा नक्कली व्यक्ति बोलाई सर्जमिन गराएको कुष्ठरोग निवारण संघका कार्यकारी प्रमुख बस्नेतले बताए । पार्टी प्यालेस साचालकले प्रधानमन्त्री कार्यालयका छानबिनकर्ता अधिकारीलाई केही मान्छे आफूकहाँ १८ हजार रुपैयाँको मदिरालगायतका खानेकुरा खाई सर्जमिनको नाटक गरेको र त्यसमा स्थानीयवासी र संघका प्रतिनिधि कोही पनि नरहेको जानकारी गराएका थिए । ुजग्गाको सर्जमिन गोप्य ढंगले गरियो हामीले भोगचलन गर्दै आएको जग्गाको सर्जमिन गर्दा हामीलाई थाहै दिइएनु संघका कार्यकारी प्रमुख बस्नेतले भने ।
जग्गावाला मारबाडी सेवा समितिलाई समेत कुनै जानकारी दिइएन । छानबिनका क्रममा नगरपालिका क्षेत्रको जग्गाको हकदाबीसम्बन्धी सर्जमिन गर्दा मालपोत अधिकृत आफैं जानुपर्ने कानुनी व्यवस्था भए पनि त्यसो नगरेको देखिएको प्रधानमन्त्री कार्यालयको एक अधिकारीले बताए ।

No comments:

Post a Comment