Thursday, November 1, 2012

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न ठेकेदारलाई बोनस दिइने

काठमाडौं, १६ कात्तिक– सरकारले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य सन् २०१५ को सेप्टेम्बरभित्रै सम्पन्न गर्न ठेकेदारलाई बोनस दिने भएको छ । चिनिया“ ठेकेदारसितको ठेक्का तोडिएपछि अनिश्चित बनेको आयोजनाको मुख्य संरचना मेलम्चीबाट राजधानीसम्म पानी ल्याउने सुरुङ निर्माण कार्य निर्धारित मितिभन्दा कम्तीमा छ महिना अगावै सम्पन्न गर्न ठेकेदारलाई बोनस दिने नीति अख्तियार गरिने जानकारी आयोजना प्रमुख कृष्ण आचार्यले दिए ।
मेलम्ची खानेपानी विकास समितिले सन् २०१६ को मार्चमा सम्पन्न गर्ने कार्यतालिका तयार गरी आगामी मार्चमा आयोजना निर्माण गर्ने ठेकेदार छनोट गरी ठेक्का सम्झौता गर्ने र त्यसको तीन महिनामा काम थाल्ने तयारी गरिरहेको छ ।
मेलम्चीबाट काठमाडौंसम्म पानी ल्याउने साढे २७ किलोमिटरमध्ये २१ किमी सुरुङ खन्न बा“की छ । ठेक्का सम्झौता भएको ढिलोमा ३६ महिनामा सुरुङ निर्माण कार्य सम्पन्न गर्ने कार्यतालिका समितिले बनाएको छ । सुरुङ निर्माण कार्य ३६ महिनाभन्दा पहिल्यै सम्पन्न गर्न ठेकेदारलाई बोनस दिन लागिएको हो । निर्धारित मिति जति छिटो सम्पन्न गर्छ, ठेकेदारले उत्ति नै बढी बोनस पाउनेछ ।
समितिले आयोजनाको निर्माण कार्य द्रुत गतिमा गरी निर्धारित मितिभन्दा कम्तीमा छ महिनापहिले सन् २०१५ को सेप्टेम्बरभित्रै सम्पन्न गर्न ठेकेदारलाई कुल ठेक्का रकमको १० प्रतिशतसम्म बोनस दिइने जानकारी आचार्यले दिए ।
‘ठेकेदारले निर्धारित मितिभन्दा जति दिन पहिले काम सम्पन्न गर्छ, एक दिनको कुल ठेक्का रकमको ०.०५ प्रतिशतका दरले ठेकेदारलाई बोनस दिइनेछ । बढीमा ठेक्का रकमको १० प्रतिशतसम्म बोनस दिइनेछ’ आयोजना प्रमुख आचार्यले भने– ‘बोनस पाइने हुनाले ठेकेदारलाई आयोजनाको काम छिटो सम्पन्न गर्न प्रोत्साहित गर्नेछ भने मेलम्चीबो पानी काकाकुल राजधानीमा छिटो आइपुग्नेछ ।’ मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ ।
चिनिया“ ठेकेदारले यसअघि सन् २००९ मा उक्त सुरुङ निर्माण गर्न ३ अर्ब ८० करोड रुपैया“ (भ्याटबाहेक) मा ठेक्का लिएको थियो । यसपटक निर्माण सामग्रीको मूल्य बढेको, नेपाली मुद्राको अवमूल्यन भएको र तीन वर्षभन्दा बढी ढिला भएका कारण सुरुङ निर्माणको लागत ५० प्रतिशतसम्म बढ्ने सम्भावना छ, ठेकेदारले छिटो काम सम्पन्न गरेमा कुल ठेक्का रकमको १० प्रतिशत बोनस पाउनेछ ।
आचार्यका अनुसार विद्यमान नेपाली कानुनअनुसार काम छिटो सम्पन्न गर्ने ठेकेदारलाई बोनस दिन मिल्छ भने बोनस दिने अन्तर्राष्ट्रिय परम्परा पनि छ, नेपालमा भने ठेकेदारलाई छिटो काम सम्पन्न गरेकामा बोनस दिइएको उदाहरण छैन । आयोजना छिटो सम्पन्न गर्न यसपटक मेलम्चीमा ठेकेदारलाई बोनस दिने नीति अख्तियार गर्न लागिएको हो ।
आयोजनाको काम ढिलो सम्पन्न गर्ने ठेकेदारलाई दिनको ०.०५ प्रतिशतका दरले कुल ठेक्का रकमको १० प्रतिशतसम्म जरिवाना गर्ने र निर्धारित समयभन्दा पहिले सम्पन्न गर्ने ठेकेदारलाई त्यही दरमा बोनस दिन मिल्ने कानुनी व्यवस्था छ ।
समितिले आयोजनाको काम छिटो सम्पन्न गर्न बिड डकुमेन्ट (ठेक्कासम्बन्धी कागजात) मा नै कुल ठेक्का रकमको १० प्रतिशतसम्म बोनस दिने नीति उल्लेख गरी ठेकेदारहरूलाई आकर्षित गर्ने भएको छ ।
मेलम्चीमा खानेपानी सन् २०१३ को सेप्टेम्बरमा सम्पन्न गर्ने कार्यतालिका निर्धारण गरी समितिले चिनिया“ ठेकेदारसित २००९ को फेब्रुअरीमा ठेक्का सम्झौता गरेको थियो । तर, चिनिया“ ठेकेदारले निर्माण सम्पन्न हुने मिति एक वर्ष बा“की रह“दा जम्मा साढे ६ किलोमिटरमात्र सुरुङ खनेका कारण सरकारले डेढ महिनाअघि उससितको ठेक्का सम्झौता तोडी नया“ प्रक्रिया सुरु गरेको हो ।
समितिले मेलम्चीको काम छिटो सम्पन्न गर्न टेन्डर आह्वान गर्नुअघि आयोजनाबारे जानकारी दिन वेबसाइटमार्फत् निर्माण गर्न इच्छुक ठेकेदारसित सुरुङको पुरानो बिड डकुमेन्ट, डिजाइन र निर्माणस्थलको स्थलगत अध्ययन गरी सुझाव दिन आग्रह गरेको छ । समितिको उक्त आग्रहअनुसार १५ वटा ठेकेदार कम्पनीले मेलम्ची निर्माणका लागि टेन्डर हाल्ने र अध्ययन गर्ने इच्छा जाहेर गरिसकेको जानकारी आचार्यले दिए । उनका अनुसार चारवटा कम्पनीले आयोजनाको स्थलगत अध्ययनसमेत गरिसकेका छन् ।
समितिले ठेकेदारले दिएका सुझावलाई समेत समेटेर बिड डकुमेन्ट तयार गरी टेन्डर आह्वान गर्नेछ । समितिले बिड डकुमेन्ट तयार पार्ने क्रममा इच्छुक ठेकेदार कम्पनीहरूसित आगामी अक्टुबर ३० मा छलफल गर्ने कार्यक्रम राखेको छ । समितिले नोभेम्बरसम्म बिड डकुमेन्ट तयार गरी जनवरी ७ सम्मको समय दिएर ठेक्का आह्वान गर्ने भएको छ ।
समितिले ठेक्का हाल्ने कम्पनीहरूको प्राविधिक र आर्थिक प्रस्ताव फेब्रुअरीभित्र मूल्यांकन सम्पन्न गरी ठेकेदार छनौट गर्ने र मार्चको अन्तिम साता ठेक्का सम्झौता गर्ने कार्यतालिका बनाएको छ । ठेक्का सम्झौता भएको तीन महिनामा मेलम्चीको सुरुङको निर्माण कार्य सुरु हुने जानकारी आयोजना प्रमुख आचार्यले दिए ।

No comments:

Post a Comment