Friday, November 23, 2012

क्यान्सरपीडित डाक्टर वाग्लेलाई ५ लाख उपचार खर्च

मन्त्रिपरिषद बैठक
काठमाडौं, ८ मंसिर– सरकारले जिल्ला अस्पताल अर्घाखाँचीका क्यान्सरपीडित मेडिकल सुपरभाइजर डा. चित्रप्रसाद वाग्लेको उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले पैसाको अभावले उपचार गर्न नसकिरहेका वाग्लेलाई ५ लाख रुपैया“ उपचार खर्च दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
उनी दुर्गममा बसेर लामो समय बिरामीको सेवा गर्दागर्दै आफैंलाई क्यान्सर लागी उपचार खर्चको अभावमा थलिएका थिए । यादवले मन्त्रिपरिषदले वाग्लेको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको जानकारी दिए ।
चीनमा बुद्ध मूर्ति प्रदर्शन गरिने
पुरातत्व विभागले चीनको विभिन्न सहरमा बुद्ध र बुद्धस“ग सम्बन्धित विभिन्न मूर्ति प्रदर्शन गर्ने भएको छ । सरकारले विभागलाई बुद्ध मूर्ति प्रदर्शनमा लैजान सहमति दिएको छ ।
मन्त्रालयको नाम परिवर्तन
सरकारले वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको नाम परिवर्तन गरी विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय राखेको छ । यसअघि दुइटा छुट्टै अस्तित्वमा रहेका विज्ञान तथा प्रविधि र वातावरण मन्त्रालयलाई गाभ्दा मन्त्रालयको नाम वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय राखिएको थियो ।
सरकारले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।
उपमहालेखापरिक्षकमा खत्रीको बढुवा
सरकारले महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक (विशिष्ट श्रेणी) पदमा सुकदेव खत्रीलाई बढुवा गरेको छ । उपमहालेखपरिक्षक खेम दाहालले राजिनामा दिएपछि रिक्त पदमा लोकसेवा आयोगका सदस्यको अध्यक्षतामा बसेको बढुवा समितिको सिफारिसमा मन्त्रिपरिषदले खत्रीको बढुवा गरेको हो ।
रुख काट्न अनुमति
सरकारले काभ्रे जिल्लाको खोपासी–तालढुँगा ग्रामीण सडक निर्माण गर्न सडक रेखाङ्कनमा रहेका २ वटा ७२ वटा रुख हटाउन वन मन्त्रालयलाई स्वीकृति दिएको छ ।
रासायनिक मलको आपूर्ति व्यवस्थापनका लागि कृषि सामग्री कम्पनीले विभिन्न बैँकबाट लिएको ऋण व्याजबापत तिर्नुपर्ने रकम ४ करोड ५९ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
सर्लाहीको हजरिया गाविस र महोत्तरीको गौरीवास तथा बर्दिवास गाविसअन्तर्गत अव्यवस्थित बसोबासीको जग्गा दर्ता सम्बन्धी गठन आदेश स्वीकृति गरेको छ । सरकारले विभिन्न २५ स्थानमा एकीकृत सेवा केन्द्र स्थापना गर्ने निर्णयसमेत गरेको जानकारी सञ्चारमन्त्री यादवले दिए ।

No comments:

Post a Comment