Monday, November 12, 2012

तिहारका तीन दिन मुलुकभर लोडसेडिङ नहुने

कुलेखानी आयोजना दिनरात चलाइने
काठमाडौं, २७ कात्तिक– सरकारले उज्यालो चाड तिहारको तीन दिन मुलुकभर लोडसेडिङ नगर्ने भएको छ । विद्युत् प्राधिकरणले बडादसैंमा जस्तै तिहार पर्वका प्रमुख तीन दिन लक्ष्मी पूजा, गोवर्धन पूजा÷म्हः पूजा र भाइटिकाको दिन लोडसेडिङ नगरिने जानकारी ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाले दिए ।
उनका अनुसार कुलेखानी जलाशयबाट सञ्चालन हुने दुवै आयोजनाबाट विद्युत् उत्पादन गरी तिहारको तीन दिन मंगलबार, बुधबार र बिहीबार मुलुकभर चौबीसै घन्टा बिजुली दिइनेछ । दिनको दुईपटक गरी ६ घन्टा लोडसेडिङको मार खेपिरहेका उपभोक्ताले तिहारको तीन दिन भने चौबीसै घन्टा बिजुली बाल्न पाउनेछन् ।
कुलेखानी मुलुकमा विद्युत्को चरम अभाव हुने समयमा बिजुली उत्पादन गरी लोडसेडिङ कम गर्ने आयोजना हो । उज्यालो पर्वमा उपभोक्तालाई अ“ध्यारामा बस्नुनपरोस् भनेर तिहारमा कुलेखानी आयोजना चलाएर मुलुकलाई लोडसेडिङमुक्त गर्न लागिएको हो ।
कोइरालाले ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो जलाशययुक्त आयोजना चौबीसै घन्टा चलाएर भने पनि तिहार पर्वका महत्वपूर्ण तीन दिन मुलुकभर लोडसेडिङ नगरिने बताए ।
‘यस वर्ष कुलेखानीको जलाशय इन्द्र सरोवर भरिनुका साथै सिमेन्टका बोराले छेकी थप ४० सेन्टिमिटर पानी जम्मा गरिएको छ । तिहारका बेला कुलेखानीका दुवै आयोजना चलाएर तिहारका बेला तीन दिन लोडसेडिङ गरिने छैन । उज्यालो पर्व तिहारमा उपभोक्ताहरू अ“ध्यारामा बस्नुपर्ने छैन’ उनले भने ।
ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणका अधिकारीले आइतबार छलफल गरी तिहारको तीन दिन लोडसेडिङ नगर्ने कार्ययोजना बनाएका हुन् । हाल मुलुकमा विद्युत्को माग १ हजार मेगावाट छ । तिहारका बेला उद्योगधन्दा र कार्यालय बन्द हुने भएकाले विद्युत् खपत ३० प्रतिशत अर्थात् ३ सय मेगावाटले घट्छ ।
तिहारमा लोडसेडिङ नगर्न सात सय मेगावाट बिजुली आवश्यक पर्छ । कुलेखानीसहित मुलुकका सबै आयोजनाबाट ६ सय मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ र भारतबाट १ सय मेगावाट आयात गरिंदै आएको छ । कुलेखानी चलाउ“दा मुलुकमा सात सय मेगावाट विद्युत् उपलब्ध हुने भएकाले तिहारका तीन दिन मुलुकलाई लोडसेडिङमुक्त राख्न सकिने जानकारी प्राधिकरणका एक अधिकारीले दिए । तिहार सकिएको भोलिपल्ट शुक्रबारदेखि पुनः दुईपटक गरी ६ घन्टा लोडसेडिङ गरिने जानकारी ती अधिकारीले दिए ।


No comments:

Post a Comment