Monday, November 26, 2012

एडीबीले मेलम्चीका लागि थप सवा दुई अर्ब सहयोग गर्ने

लागत बढे पनि मेलम्चीलाई रकम अभाव नहुने
मेलम्ची सन् २०१६ को मार्चमा सम्पन्न गर्ने कार्यतालिका
काठमाडौं, ११ मंसिर– मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना राजधानीसम्म पानी ल्याउने सुरुङ निर्माणका लागि बढ्ने लागतका लागि एसियाली विकास बैंक (एडीबी) ले सवा २ अर्ब रुपैया“सम्म थप सहयोग गर्ने भएको छ ।
ठेक्का तोडिएर अनिश्चित बनेको मेलम्चीको बढ्ने लागत रकम एडीबीले सहयोग गर्ने भएपछि आयोजना निर्धारित अवधि ३६ महिनामा सम्पन्न हुने वातावरण बनेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
निर्माण सामग्रीको मूल्य बढेको, नेपाली मुद्राको अवमूल्यन भएको, निर्माण अवधि चार वर्षभन्दा बढी ढिला भइसकेकाले सुरुङ निर्माणको लागत बढ्ने भएकाले त्यसका लागि नपुग रकमका लागि एडीबीले सवा २ अर्ब रुपैया“सम्म थप सहयोग गर्ने भएको जानकारी मेलम्ची खानेपानी आयोजनाका एक अधिकारीले दिए ।
मेलम्ची खोलामा इन्टेक (बा“ध) निर्माण गरी राजधानीको सुन्दरीजलसम्म खानेपानी ल्याउने साढे २७ किमी सुरुङ निर्माण गर्न यसअघि करिब ८ अर्ब रुपैया“ लाग्ने लागत अनुमान गरिएको थियो । निर्माण सामग्रीको मूल्य बढेको, नेपाली मुद्राको अवमूल्यन भएको, निर्माण अवधि चार वर्षभन्दा बढी ढिला भइसकेकाले सुरुङ निर्माणको लागत २४ प्रतिशतसम्म बढ्ने अनुमान आयोजनाका अधिकारीको छ ।
‘सुरुङ निर्माणका लागि २४ प्रतिशतसम्म लागत बढ्ने सम्भावना छ, त्यसका लागि एडीबीले थप सवा २ अर्ब रुपैया“सम्म सहयोग गर्ने सहमति जनाइसकेको छ, अब सुरुङ निर्माणका लागि आर्थिक अभाव हुने छैन’ मेलम्ची खानेपानी आयोजनाका अधिकारीले भने ।
सन् २०१३ मा सम्पन्न गर्ने गरी सन् २००९ मा  ठेक्का लिएको चिनिया“ ठेकेदारले चार वर्षमा जम्मा साढे ६ किमीमात्र सुरुङ निर्माण गरेपछि सरकारले उससितको ठेक्का तीन महिनाअघि तोडी नया“ ठेक्का प्रक्रिया सुरु गरेको छ । मेलम्चीबाट काठमाडौंसम्म पानी ल्याउने २१ किमी सुरुङ खन्न बा“की छ ।
मेलम्ची खानेपानी विकास समितिले २१ किमी सुरुङ निर्माणका लागि एक÷दुई दिनभित्रै टेन्डर आह्वान गर्ने भएको छ । एडीबीले सुरुङ निर्माणको बिड डकुमेन्ट आइतबार स्वीकृति दिइसकेको छ ।
समितिले सुरुङ निर्माणको बढेको लागतमध्ये नेपाल सरकारले बेहोर्नुपर्ने रकमको लिखित प्रतिबद्धताका लागि अर्थमन्त्रालयमा फाइल पठाएको छ । अर्थमन्त्रालयले बढेको लागत बेहोर्ने लिखित प्रतिबद्धता सोमबार दिने र समितिले मंगलबार या बुधबारसम्म सुरुङ निर्माणका लागि टेन्डर आह्वान गर्ने तयारी मेलम्ची आयोजनाले गरेको छ । ‘हामीले सुरुङ निर्माणका लागि मंगलबार या बुधबारसम्ममा टेन्डर आह्वान गर्छौं’ आयोजनाका एक अधिकारीले भने ।
ठेकेदार कम्पनीहरूलाई टेन्डर हाल्ने अवधि जनवरी २१ सम्मलाई दिइनेछ । मार्चमा ठेकेदार छनौट गरी आगामी अप्रिल मसान्तसम्ममा सुरुङ निर्माण कार्य सुरु गरिने जानकारी आयोजनाका अधिकारीले दिए ।
मेलम्ची खानेपानी विकास समितिले आगामी ३६ महिनाभित्र अर्थात् सन् २०१६ को मार्चभित्रै सुरुङ निर्माण कार्य सम्पन्न गरी काकाकुल राजधानीमा पानी ल्याइसक्ने कार्यतालिका बनाएको छ । चिनिया“ ठेकेदारका कारण ढिलाइ भएको आयोजना छिटो सम्पन्न गर्न समितिले एडीबीसित सहमति गरी ठेकेदारलाई दिने एड्भान्स रकमसमेत वृद्धि गरेको छ ।
ठेकेदारलाई निर्माण सामग्री, उपकरण र दक्ष प्राविधिक जनशक्ति पर्याप्त परिचालन गरी निर्माण कार्य छिटो सुरु गराउन सहुलियतस्वरूप समितिले छनौट हुने ठेकेदारलाई कुल ठेक्का रकमको २० प्रतिशत एड्भान्स दिन लागेको हो । यसअघि सरकारले मेलम्चीको ठेक्कामा १५ प्रतिशत रकममात्र एड्भान्स दिएको थियो ।
सरकारले मेलम्ची आयोजनाको निर्माण कार्य ३६ महिनाभन्दा अघि नै सन् २०१५ को सेप्टेम्बरभित्रै सम्पन्न गर्न ठेकेदारलाई बोनससमेत दिने निर्णय गरिसकेको छ । सुरुङ निर्माण कार्य निर्धारित मितिभन्दा कम्तीमा छ महिना अगावै सम्पन्न गर्न ठेकेदारलाई बोनस दिने नीति अख्तियार गरिएको जानकारी आयोजनाका अधिकारीले दिए । निर्धारित मिति जति छिटो सम्पन्न गर्छ, ठेकेदारले उत्ति नै बढी बोनस पाउनेछ । समितिले आयोजनाको निर्माण कार्य द्रुत गतिमा गरी निर्धारित मितिभन्दा कम्तीमा छ महिनापहिले सन् २०१५ को सेप्टेम्बरभित्रै सम्पन्न गर्न ठेकेदारलाई कुल ठेक्का रकमको १० प्रतिशतसम्म बोनस दिने भएको छ ।
‘ठेकेदारले निर्धारित मितिभन्दा जति दिन पहिले काम सम्पन्न गर्छ, एक दिनको कुल ठेक्का रकमको ०.०५ प्रतिशतका दरले ठेकेदारलाई बोनस दिइनेछ । बढीमा ठेक्का रकमको १० प्रतिशतसम्म बोनस दिइनेछ’ आयोजनाका एक अधिकारीले भने– ‘बोनस पाइने हुनाले ठेकेदारलाई आयोजनाको काम छिटो सम्पन्न गर्न प्रोत्साहित गर्नेछ भने मेलम्चीबो पानी काकाकुल राजधानीमा छिटो आइपुग्नेछ ।’

No comments:

Post a Comment